‘आखिर सरकार चलाउछ कसले ?’



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष र यससँग सम्बन्धित घटनाक्रमप्रति विपक्षी दलहरू भने प्रतिक्रिया विहीन भएका छन् । सत्तारुढ दलभित्र देखिएको विवादको खिचातानीलाई लिएर प्रमुख प्रतिपक्षी काँग्रेस र तेस्रो ठूलो दल जनता समाजवादी पार्टी प्रतिक्रिया विहीन नै भएका छन् ।

नेकपा नेतृत्वमा आठ महिना यता जारी शक्तिसंघर्षले सिंगो मुलुक अनिर्णयको बन्दीजस्तै बनेको छ । पार्टीभित्रको विवाद संसद छिर्ने डरले संसद नै अलपत्र पारेर नेकपाका नेताहरु आरोप प्रत्यरोपमा छन् । हुन् त विपक्षी नेपाली काँग्रेसमा पनि विवाद कम छैन । तर, सरकारका कुनै पनि कमजोरीमा काँग्रेस खरोरूपमा उभिन भने सकेको छैन ।

नेकपा भित्र चलिरहेको विवादबारे काँग्रेस नेता मीनेन्द्र रिजालले चुनाव चित्न एउटा नाराबाट सजिलो थियो भने पार्टीमा मिलेर काम गर्न त्यतिनै कठिनाई हुने बताएका छन् ।

‘चुनाव चित्न एउटा नाराबाट सजिलो थियो,’ काँग्रेस नेता रिजालले भने–‘तर, पार्टी भित्र मिलेर काम गर्ने कठिनाई उहाँहरुले बेर्होदै हुनुहुन्छ ।’

‘ओलीजीको बारेमा भन्नै पर्दैन । उहाँ निर्वाचित सत्तावादी नेता हो । चुनाव चितेपछि मैले संसद, विधिको शासन, न्यायलय र संविधान केही पनि मान्नुपर्दैन भन्ने धारणा राख्नुहुन्छ,’ उनले अगाडी थप्दै भन्छन्–‘अर्को तिर जनता कोभिड–१९ को कहरमा छ । सत्तारुढ पार्टी आपसी सत्ताको लुछाचुडीमा छ । योभन्दा दर्दनाक अवस्था अर्को कुन हुन्छ ।’

यसैगरी तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले पनि जनमत र जनचाहना विपरीत भइरहेका गतिविधिले सरकार कसदे चलाइरहेको छ भन्ने नागरिकलाई थाहा नभएको टिप्पणी गरेका छन् ।

‘जनमतको त कुरा छाडौं, नेकपाको आफै मत अनुसार पनि देश चलिरहेको छैन,’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने–‘आश्चर्य के छ भने यो देश कसले चलाइरहेको छ, सरकारलाईलाई कसले चलाइरहको छ । नेकपाका नेताहरु भन्छन् हामीले चलाएका हैनौ । प्रधानमन्त्री भन्छन् मैले काम गर्न पाएको छैन । त्यसो भए चलाइ कसले राखेको छ ? यो नै बडो आश्चर्यको विषय छ । एउटा खोजको विषय भा छ ।’

उनले प्रश्न गर्दै भने –‘आखिर सरकार चलाउँछ कसले ?’

‘धेरै मानिसहरुले भन्छन्, यो विचौलियाहरुले चलाएको हो ।कसैले विभिन्न तत्रहरु छन् तिनले तानबाना बुनेर चलानएको हो,’ उनले भने–‘यथार्थ के हो भने पार्टीले सरकार चलाउन बाटो देखाउने हो । र सरकारमा रहेकाले पनि पार्टीसँग समन्वय गरेर सरकार चलाउने र देश र जनतालाई राहत दिने कार्य गर्नुपर्छ ।’

नेकपाभित्र विवाद बढिरहँदा समाधानको प्रयास र सम्भावित टुटफुटदेखि नयाँ समीकरणका प्रयासहरु समेत भइरहेका छन् ।

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्