नासिँदै कालीगण्डकी : नदीमा डोजर र स्काभेटरको रजाइँ, सम्बन्धित निकाय मौन



म्याग्दी : दुर्लभ शिला ‘शालीग्राम’ पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको मौलिक स्वरूप नाश हुँदै गएको छ । कालीगण्डकी नदीमा डोजर र स्काभेटरको रजाइँ छ । बेनी बजार संरक्षणका नाममा केही माफियाहरू नदीको दोहन गर्न व्यस्त छन् । 

याे नदी हिन्दूधर्मावलम्वीहरुका लागि पूजापाठ गर्ने थलो तथा धार्मिक आस्थाको केन्द्र हो । धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण नदी कालीगण्डकी हेर्दाहर्दै कुरूप हुँदै गएको छ भने नदीको अवैध दोहन बढ्दै गएपछि तटीय क्षेत्र जोखिमयुक्त बन्दै गएका छन् ।

जथाभाबी कालीगण्डकीमा डोजर र स्काभेटरजस्ता साधनहरू प्रयोग गरी डुङ्गा र बालुवा निकाल्दा कालीगण्डकीको मौलिक स्वरूप त नष्ट भएको छ नै बेनी बजार लगायत तटीय क्षेत्रहरूमा जोखिम बढ्दै गएको वातावरणविद्हरूले बताएका छन् ।

अहिले कालीगण्डकी नदीको बेनी खण्डमा दैनिक जसो स्काभेटर प्रयोग गरेर नदीको धार नै परिवर्तन हुने गरी ढुङ्गा र गिट्टी निकालिँदै छ । बेनीतर्फको किनारमा बेनी बजार संरक्षणका लागि ग्यावियन पर्खाल लगाउने काम चलिरहेको छ । यसैको बहानामा कालीगण्डी नदीमा डोजर र स्काभेटर पसेका छन् । 

तर गैरकानुनी रूपमा नदीको विनाश भइरहँदा समेत स्थानीय निकायले केही गर्न सकेको छैन ।

जैविक प्रदूषणको चपेटामा कालीगण्डकी

काली गण्डकी नदी जैविक प्रदूषणको चपेटामा पनि परेको छ । बढ्दो शहरीकरणका कारण नदी प्रदूषित बन्दै गएको छ ।

मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कम भई कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित वनेको वातावरणविद्ले बताएका छन् । यसले नदीको अस्तित्व समेत खतरामा परेको उनीहरूको भनाइ छ । 

स्थानीयको विरोध 

बेनी बजार संरक्षण आयोजनाका लागि ग्यावीयन पर्खाल निर्माणका लागि म्याग्दी र कालीगण्डकी नदीको दोभानबाट ढुङ्गा उत्खनन गरिएकोमा बेनी नगरपालिका–२ खबराका स्थानीयले विरोध जनाएका छन् ।

बेनी बजार संरक्षण उपभोक्ता समितिले दोभानमा ढुङ्गा उत्खननका लागि परिचालन गरेको एक्साभेटरको चाबी नियन्त्रणमा लिएर बुधबार स्थानीय प्रशासनलाई बुझाएको खबराका यामबहादुर खड्काले जानकारी दिए ।

खबराको बस्ती, सडक र कारागारलाई जोखिम हुने गरी नदीमा एक्साभेटर चलाएर राजस्व नतिरी, ठेक्का नलागेको ठाउँबाट ढुङ्गा निकालिएकाले कारबाहीको माग गरिएको खड्काले बताए ।

उता उपभोक्ता समितिका अध्यक्ष कुबिरकुमार श्रेष्ठले भने कालीगण्डकीमा पानीको सतह बढेका कारण छिटो ग्यावीयन पर्खाल निर्माण गर्न टाढाबाट ढुङ्गा ल्याउन सम्भव नभएकोले नगरपालिकाको सहमतिमा इस्टिमेट अनुसार खबरातर्फ असर नपुग्ने गरी ढुङ्गा निकालेको बताएका छन् ।

स्थानीय तहसँग अनुमति लिएर अघि बढाइएको काममा विवाद गर्न नहुने उनको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस्