कुवेतमाथि नेपालको शानदार जित



काठमाडौं : ओपनर पवन सरार्फ र ऋत गौतमले अर्धशतक प्रहार गरेपछि आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गरेको छ।

यद्यपी कुवेतविरुद्ध जित निकाले पनि नेपाल आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपमा छनोट हुन भने असफल रह्यो। आजै भएको अर्को खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपना पुरा हुन नसकेको हो।

यूएई पाँच खेलमा पाँचमा नै जित निकाल्दै विश्वकपको लागि छनोट भएको हो। पहिलो खेलमा सिंगापुरमाथि २ सय १७ रनको फराकिलो जित निकालेको नेपाल वर्षाले प्रभावित दोस्रो खेलमा युएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित भएको थियो। १ रनको हारनै नेपालको विश्वकप खेल्ने सपनामा बाधक बन्यो। त्यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेट र चौथो खेलमा ओमानलाई १ सय ५० रनले हराएको थियो।

क्वालालाम्पुरमा आज सम्पन्न अन्तिम खेलमा कुवेतले जितका लागि दिएको १ सय ५८ रनको मध्यम लक्ष्य नेपालले २८ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो। नेपालको सहज जितमा ओपनर ऋत गौतमले सर्वाधिक ६२ रनको योगदान दिए। ८४ बलको सामना गरेका उनले ७ चौकासहित ६२ रनमा आउट रहे।

त्यस्तै अर्का ओपनर पवन सरार्फले ६१ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५३ रनको योगदान दिए। पहिलो विकेटका लागि सरार्फ र गौतमले १९.२ ओभरमा ९३ रनको साझेदारी गर्दै नेपाललाई सहज जिततर्फ अघि बढाएका थिए। चौका हान्दै खेल फिनिसङ गरेका आशिफ शेखले २० बलमा ५ चौका र १ छक्का सहित ३३ र सन्दीप जोरा ५ रनमा अविजित रहे।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले ४९.४ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो। कुवेतका लागि नोमन बुद्रोले अर्ध शतकीय इनिङ्स खेले। नेपाली बलरको डटेर सामना गरेका उनले अन्तिम विकेटका रुपमा रन आउट हुनुअघि १ सय २० बलमा ८ चौका सहित ७० रनको योगदान दिए।

तेस्रो ओभरको पाँचौ बलमा राशिद खानले मिट भावसारलाई १० रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए। राशिदले नै कप्तान अब्दुल सद्दीकलाई पवन सरार्फबाट पाँचौ ओभरको पहिलो बलमा शून्यमा पेभिलिएन फर्काए।

तेस्रो विकेटका लागि गोकुल कुमार र नोमन बुद्रोले ७४ रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासे। यी दुईबीचको साझेदारी सुर्य तामाङले २४ ओभरको दोस्रो बलमा कुमारलाई ३६ रनमा बोल्ड आउट गर्दै तोडे। उनले ६६ बलमा ५ चौका प्रहार गरे। २६ ओभरको चौथो बलमा तामाङले नै गोविन्द्र कुमारलाई भिम सार्कीबाट क्याच गराउदै १ रनमा पेभिलिएन फर्काए।

कुशल मल्लले ३१ ओभरको चौथो बलमा सन्जीव नायरलाई ६ रनमा आउट गरे। मल्लले नै ३३ ओभरको अन्तिम बलमा हमजा कुरेशीलाई ऋत गौतमबाट ३ रनमा आउट गरेका थिए। तल्लो क्रममा हमोद अमानुल्लाह १७ रनमा आउट भए।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। कुशल मल्ल,राशिद खान र सुर्य तामाङको नाममा समान २ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्