होला त लकडाउन !



काठमाडौं : उपत्यका मेयर्स फोरमले छठपछि लकडाउनको माग गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि छठ पछि पुनः लकडाउनको माग गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्था केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच गत साता भएको बैठकमा लकडाउनको माग गरिएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब बसको बैठकमा पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो ।

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको हो ।

छलफलमा तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएको छ ।

‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरेर परीक्षणको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’, बैठकपछि उनले भने ।

बैठकमा त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नुपर्ने सुझावसमेत आएका छन् ।

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।

पछिल्लो समय मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो ।

त्यसोत काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रबारमात्रै उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । योसँगै हालसम्म १ लाख ८ सय ७२ जना संक्रमित भएका छन् ।

हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८, भक्तपुरमा ७ हजार ३ सय ३६ र ललितपुरमा ११ हजार ९ सय ४८ जना संक्रमित देखिएका छन् ।

त्यसैगरी काठमाडौंमा ७१ हजार ५ सय ९१, भक्तपुरमा ६ हजार ४ सय ७० र ललितपुरमा ९ हजार ६ सय ३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांकमा छ । त्यसैगरी काठमाडौंमा ३ सय १६, भक्तपुरमा ८३ र ललितपुरमा ८९ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमित पुष्टि हुनेमा ४ सय ८४ महिला र ६ सय २३ पुरुष रहेका छन् ।

काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर आज संक्रमित पुष्टि हुनेमा १९ सय ४५ जना रहेका छन् ।

देशभर २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

यसैगरी हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ । शुक्रबारमात्रै थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्