श्रेष्ठलाई थापाको जवाफ, गज्जब छ ! गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी



काठमाडौं : चितवनको घटनालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी इन्काउन्टर जवाफ दिएका छन् ।

प्रेस सल्लाहकार थापाले बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमाथि ढुंगा प्रहार गरेको नदेख्नेले चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार भन्दै विज्ञप्ति जारी गरेको भन्दै रोष प्रकट गरेका हुन् ।

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगाप्रहार गरिँदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ,’ आइतबार उनले ट्वीटरमा श्रेष्ठलाई जवाफ दिँदै भनेका छन्–‘गज्जब छ ! गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी । दुवै स्थायी कमिटी सदस्य– तब न नारायणकाजी ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भत्सनायोग्य रहेको बताएका थिए ।

‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क.सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भत्सनायोग्य छ,’श्रेष्ठले ट्विटरमा लेखेका थिए–‘यसप्रकारको दुर्व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन । चेत होस् ।’

शनिबार पार्टीको कार्यक्रममा गुटबन्दी गरेको आरोपमा नेता सुरेन्द्र पाण्डेविरुद्ध ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

स्थायी कमिटि सदस्य पाण्डेविरुद्ध भएको नाराबाजीको घटनालाई लिएर नेकपामा आरोप प्रत्यारोप शुरु भएको हो ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्