सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु



सप्तरी : सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु भएको छ । आज (आइतबार) बिहान जिल्लाको कञ्चनरुप नगरपालिका वडा नं.५ पडेमारामा हात्तीलाई करेन्ट लागेको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीको समूहले पडेमारा नजिकैको विद्युत पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर हात्तीलाई करेन्ट लागेको पाइएको नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए ।

हात्ती गाउँ नजिकैको धान खेतमा मृत फेला परेका थियो । उनलाई ३३ हजार केभिएको हाइटेन्सन विद्युतबाट करेन्ट लागेको छ । हात्तीले विद्युतको पोल भत्काइ दिएपछि त्यस क्षेत्रको विद्युतसमेत अवरुद्ध भएको छ ।

करेन्ट लागेर हात्तीको मृत्यु भएपछि हेर्नेको भिड लागेको थियो । कानुनी प्रक्रिया पुरा गरी हात्तीको खाल्डो खनेर गाडिने तयारी गरिएको नगर प्रमुख मिश्रको भनाइ छ ।

प्रकाशित :७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्