देशलाई गलत बाटोमा जान दिन्‍नँ : प्रधानमन्त्री ओली



ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने बताएका छन् ।

सोमबार बिहान ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सामा स्थानीवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको प्रगति हेरेर तर्सिएका केही–केही मान्छेलाई देशमा स्थिरता आउला भन्ने चिन्ता रहेको बताएका हुन् ।

‘सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर आत्तिएका छन्,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने–‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’ साथै उनले देशलाई गलत बाटोमा जान नदिने बताए ।

सरकार नढल्ने प्रष्ट पार्दै ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउछ र लोकप्रियता बड्छ भनेर उनीहरु आत्तिएको दाबी गरे ।

हेलिकप्टरमा काठमाडौंबाट सिधै घुन्सा गएका ओलीले राडी, पाखि र गलैंचा बुनाइको अवलोकन गरेका थिए भने ओलीले घुन्सा फाउण्डेसन भवनको उद्घाटन गरेका थिए ।

ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्