नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि आज औपचारिक वार्ता हुँदै



काठमाडौं : भारतीय विदेश सचिव हर्षबर्धन शृंगला दुई दिने नेपाल भ्रमणका लागि आज (बिहीबार) आउँदै छन् ।

भ्रमणको पहिलो दिन बिहीबार भारतीय विदेशसचिवले आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्ने छन् । नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि बिहीबार औपचारिक वार्ता हुन लागेको हो ।

परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी हर्षबर्धन शृंगला नेतृत्वका प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः शुरु गर्न भारतीय विदेश सचिव शृंगला आज काठमाडौं आउन लागेका हुन् ।

बिहीबारको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।

भारतीय विदेश सचिव शृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेशमन्त्री शृंगलालको शिष्टाचार भेट हुनेछ । शुक्रबार नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनी दिल्ली फर्किनेछन् ।

४ भदौ ०७६ मा काठमाडौंमा दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम् जयशंकर आएका थिए । त्यसको दुई महिनापछि भारतले कालापानीसमेतको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच औपचारिक कूटनीतिक वार्ता रोकिएको थियो ।

गत १५ अगस्टमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा औपचारिक संवाद शुरु गर्ने सहमति भएको थियो । त्यसपछि भारतीय गुप्तचर संस्था ‘र’ प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्