रुसद्वारा अमेरिकी जलसेनाको जहाज ध्वस्त पार्ने चेतावनी



एजेन्सी : जापान सागरस्थित रुसी जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको एउटा विध्वंसक जहाजलाई आफ्नो युद्धपोतले मंगबार लखेटेको दाबी रुसले गरेको छ ।

आफ्नो जलक्षेत्रमा छिर्ने ’यूसएसएस जोन एस मक्केन’ नामक उक्त जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिइएको उसले जनाएको छ ।

उसका अनुसार उक्त जहाज पिटर द ग्रेट गल्फको जलक्षेत्रमा दुई किलोमिटर भित्र आएको थियो । तर, अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ । उसका अनुसार अमेरिकी जहाज कहीँबाट पनि ‘निष्काशित’ भएको छैन ।

जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन् ।

रुसको रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको थियो ।

बीबीसीका अनुसार चेतावनीमा ‘घुसपैठ गर्ने जहाजलाई बाहिर निकाल्न शक्तिको प्रयोग गर्न सकिन’ भनेको बताइएको छ । रुसी विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभबाट चेतावनी दिइएको रुसको दाबी छ ।

तर, रुसको भनाइ मिथ्या भएको अमेरिकी जलसेनाको सेभन्थ फ्लीटका प्रवक्ताले बताए । ‘समुद्री सीमाबारे गरिएको अवैध दाबीलाई अमेरिकाले कहिल्यै स्वीकार गर्दैन,’ उनले भने ।

समुद्रमा यस्तो घटना हतपत हुँदैन। यद्यपि गत वर्ष पूर्वी चीन सागरमा एड्मिरल भिनोग्रादोभ एउटा अमेरिकी क्रूजरसँग झन्डै ठोकिएको थियो । त्यस घटनाका लागि रुस र अमेरिका दुवैले एकअर्कालाई दोषारोपण गरेका थिए ।

दुवै पक्षले समुद्र र आकाशमा हुने एकअर्काका सैन्य गतिविधिप्रति आपत्ति प्रकट गर्ने गरेका छन् । रुस र अमेरिकाबीच अहिले सुमधर सम्बन्ध छैन ।

भ्लादिमिर पुटिनले अझै पनि जो बाइडनलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका छैनन् । आगामी फेब्रअरी महिनामा म्याद सकिन लागेको परमाणुअस्त्रसम्बन्धी एउटा सहमतिबारे दुई देशले नयाँ निर्णय गर्न अझ बाँकी नै छ ।

सन् २०१० मा ‘न्यू स्टार्ट ट्री’ मा हस्ताक्षर गर्दा दुवै देश लामो दूरीसम्म प्रहार गर्न सकिने परमाणुअस्त्रको संख्या घटाउन सहमत भएका थिए ।

प्रकाशित : मंसिर ११, २०७७

प्रतिक्रिया दिनुहोस्