भारतीय विदेश सचिव श्रंगलाद्वारा ३ विद्यालय भवनको उदघाटन



गोरखा : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भूकम्पपछि पुनर्निर्माण भएका ३ वटा विद्यालयको आज (शुक्रबार) उदघाटन गरेका छन् ।

भारतको अनुदान सहयोगमा बनेको गोरखा नगरपालिका अन्तर्गतको तारा मावि छेवेटार, रत्नलक्ष्मी मावि डुम्रीडाँडा र महालक्ष्मी मावि लक्ष्मिबजारको विद्यालय भवनको विदेश सचिव श्रृंगला र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

गोरखा नगरपालिका-९ लक्ष्मिबजारस्थित महालक्ष्मी माविमा आयोजित भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रृंगलाले भूकम्पपछिको पुनर्निर्माणमा भएको सहयोगले भारत र नेपालबीचको सम्बन्ध सुमधुर भइरहने विश्वास व्यक्त गरे ।

प्रत्येक वर्ष नेपालका ७ हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको उनले बताए । श्रृंगलाले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्मस्थलको रुपमा परिचित ऐतिहासिक भूमिमा आउन पाउँदा खुसी लागेको बताए ।

‘गोर्खाली बहादुरी छन् भनेर संसारभर चिनिएका छन्, विश्वभर विरताको रुपमा चिनिएको यो भूमिमा आउन पाउँदा खुसी लागेको छ,’ उनले भने । विदेशमन्त्रीको साथमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा पनि सहभागी थिए । भूकम्पले भत्काएको गोरखाका ७ वटा विद्यालय पुनर्निर्माणका लागि भारत सरकारले जिम्मा लिएको थियो ।

भारतको सहयोगमा बन्ने अमर ज्योति जनता मावि लुइँटेल, गण्डकी मावि थुमि, कृष्णज्योति मावि गाखु र सुर्योज्योति मावि ताकुकोटका भवन भने निर्माणाधीन छन्। भूकम्पपछि गोरखा र नुवाकोटमा ५० हजार घर निर्माण गर्ने भारत सरकारले प्रतिबद्वता जनाएको थियो । जसमध्ये ४६ हजार ५ सय घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

प्रकाशित :१२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्