सूर्यविनायक नगरप्रमुख थापा कोरोना संक्रमित



भक्तपुर : सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा कोरोना संक्रमित भएका छन् ।

प्रमुख थापाले आज सामाजिक सञ्जालबाट आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्न र सचेत रहन आग्रह गरेका हुन् ।

नगरपालिकाले कोरोना संक्रमण रोक्न र संक्रमितको व्यवस्थापनमा घुम्ती स्वाब संकलनदेखि स्वास्थ्यका गतिविधिमा खटिएका प्रमुख थापा आफैँ संक्रमित भएका छन् ।

होम आइसोलेसनबाटै नगरप्रमुख थापाले भने,“गत बिहीबार साँझ म घर पुगेपछि हल्का ज्वरोको महसुस भयो, शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो, हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।”

उपत्यका नगरपालिका फोरमले आज एक विज्ञप्ति जारी गर्दै फोरमका सदस्य एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको शीघ्र स्वाथ्य लाभको कामना गरेको छ ।

फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरीबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन कर्तव्यबोधका साथ अहोरात्र खटिने क्रममा नगरप्रमुख थापा आफैँ कोभिड-१९ बाट संक्रमण भएकामा उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीसँग सम्पर्कमा आउनुभएका सचेत रहेर पिसीआर परीक्षण गर्न आग्रह गर्दछौं ।’’

प्रकाशित :१३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्