माल्दिभ्सकाे पाेस्टमा बंगलादेशकाे ९ गाेल,



काठमाडौँ : साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको छ ।

 

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएका खेलमा बङ्गलादेशका निहत जमानको चार गोलको मद्दतले बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गर्‍यो । जमानले ११आँै, २०आँै र २३औँ र ४६औँ मिटेमा गोल गरेका थिए ।

 

त्यस्तै कप्तान मोहमद महेदी हसनले पहिलो हाफको इन्जुरी समयमा गोल गरे भने ४८औँ र ६६औँ मिनेटमा रसेल अहमेद दुई र ८०औँ र खेलको अन्तिम मिनेटमा आसिकुर रहमाले दुई गोल गर्दै बङ्गलादेशलाई फराकिलो जित दिलाए ।

 

सँगै बङ्गलादेश र नेपाल समूह ‘ए’बाट साफ यु–१५ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् भने लगातार दुई हार ब्यर्होदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।  समुह ‘ए’मा बङ्गलादेश र नेपालको समान तीन अङ्क भएको छ । समूह ‘ए’को समूह विजेता भने आइतबार नेपाल र बङ्गला देशबीचको खेलले निर्धारण गर्नेछन । लिग चरणमा बङ्गलादेशको यो पहिलो खेल हो । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो ।  

    

आयोजक नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बङ्गलादेशसँग खेल्दैछ । यसअघि नेपालले बिहीबारै भएको पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो । 

 

प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदै छन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । 

 

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स तथा समूह ‘बी’मा भारत, भुटान र पाकिस्तान छन् । 

 

प्रतिक्रिया दिनुहोस्