श्रीलंकाका राष्ट्रपतिद्वारा संसद् निलम्बन



कोलम्बो : श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गरेका छन् । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रिपरिषद् विघटन भोलिपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गरेका हुन् ।

 

संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको पुष्टि गरेका छन् । 

शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद्नै निलम्बन गरिदिएका हुन् 

 

विक्रमासिङघेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै बहुमत पुष्टि गरेर देखाउने बताइरहेका थिए । उनले संसदमा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आफूलाई हटाउन नमिल्ने दाबी पनि गरेका छन् । 

 

संसदमा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेश गर्ने कार्यक्रम रहेको थियो । बजेट पेस गर्न पनि नमिल्ने गरी संसद निलम्बन भएकाले श्रीलङ्कामा अब आर्थिक संकटसमेत आउन देखिएको छ । 

 

राष्ट्रपति सिरीसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उहाँले प्रधानमन्त्री परिवर्तन गरेका हुन् । सिरीसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए । 

 

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत खुवाएका छन् । 

 

गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरीसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए । आफ्ना विरोधी र प्रतिश्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरीसेनाले चकित बनाएका छन् । 

 

आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरीसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हुँदै आएकोमा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गरेका हुन् । विक्रमासिंघेको यूनाइटेड नेसनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो । 

 

रासस

प्रतिक्रिया दिनुहोस्