कविता राईको ‘आमा र जून’ बजारमा



काठमाडौं : पूर्वी पहाडी जिल्ला भोजपुरकी स्रष्टा कविता राई आफ्नो पहिलो कविता संग्रहसहित आएकी छन्।

पत्रकारिता र साहित्यलेखन सँगै अघि बढाउँदै पछिल्लो समय शिक्षणमा संलग्न रहेकी राईको कविता संग्रह ‘आमा र जून’ शनिबार सिटीम्याक्स, बागबजारमा भोजपुरका संघीय सांसद सुदन किराँती, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव एवं प्रगतिशील लेखक संघका नवनिर्वाचित अध्यक्ष प्राडा. जीवेन्द्रदेव गिरी, प्राज्ञ एवं वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूलगायतले लोकार्पण गरे।

नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा कृति विमोचनपछि बोल्दै सांसद राईले साहित्यले राजनीतिलाई मार्गदर्शन गर्ने बताए।

रसियाली साहित्यकार म्याक्सिम गोर्कीको ‘आमा’ उपन्यासकै कारण रसियाको राजनीतिक परिदृश्य कायापलट भएको र लु सुनको साहित्य र माओको क्रान्ति आपसमा अन्तरसम्बन्धित भएको भन्दै उनले समाज परिवर्तन र राष्ट्रको समृद्धिमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।  कविता राईका कतिपय कविता आफ्नै जीवनबारे लेखिएजस्तो लाग्ने उनले सुनाए।

प्राज्ञ डा. पौडेलले लोकार्पित कृतिमा ग्रामीण जीवन र परिवेशको सघनता पाइने बताए । उनले भने, ‘कविताहरूले मानिसका सपना बोकेका छन्। लोकभावना र लोकसंवेदनालाई सरल ढंगबाट प्रस्तुत गरिएको छ ।’

समालोचक डा. नारायण गडतौलाले लोकार्पित कृतिको समीक्षात्मक टिप्पणी गर्दै कविले आफ्नो अन्तरले देखे, भोगेको जीवन र सुनेको स्वर्गलाई बुनेर यथार्थ र कल्पनाको सुन्दर कला बुनेको बताए। कृतिका सबै कविता अब्बल रहेको गडतौलाको ठम्याइ थियो।

प्रा.डा. गिरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका श्याम तमोट, प्रदेशसभा सांसद राजेन्द्र राई, पूर्वसांसद जयन्ती राई र गीतकार टीका चाम्लिङले कवि राईका कविताहरू सरल र सम्प्रेषणीय हुनुका साथै अब्बल भएको दाबी गरे।

कवितालेखनको अनुभूतिसहित स्रष्टा राईले ‘बाबा’, ‘रुवाइ’ तथा ‘आमा र जून’ शीर्षकका तीन कविता सुनाएकी थिइन्। कवि बाबा बस्नेतले कविता संग्रहको ‘साल्टीज्यू’ शीर्षकको कविता सुनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्