काँग्रेस नेताहरुद्वारा पौडेल गिरफ्तारीको विरोध



काठमाडौं :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ प्रहरीले गरेको गिरफ्तारीको काँग्रेस नेताहरुको विरोध गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पौडेलको गिरफ्तारीको विरोध गर्दै यसलाई सर्वसत्तावाद संकेत भएको बताएका छन् । सभापति देउवाले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।

उनले पौडेलमाथि गरिएको दुव्र्यवहार र गिरफ्तारी आपत्तिजनक रहेको उल्लेख गर्दै पौडेलको तत्काल रिहा गर्न माग गरे ।

उनले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा पौडेलमाथिको घटना भएको भन्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने पनि चेतावनी दिएका छन् ।

यस्तै महामन्त्री डा. शशांक कोइरालाले पनि पौडेललाई नियन्त्रणमा लिइएको घटनाको भत्र्सना गर्दै कांग्रेसको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

पौडेललाई प्रहरीले नियन्त्रणमा लिइनु सत्ताको चरम दुरुपयोग भएको पनि उनले बताएका छन् । ‘कुनै राजनीतिक दलका नेतालाई कार्यक्रममै जान रोक लगाउनुले सरकारको तानाशाही प्रवृत्ति प्रष्ट भएको छ । लोकतन्त्रका लागि अनवरत लडेको नेपाली कांग्रेसले यस्ता गलत कार्यबाट विचलित नहुने र यस्ता अतिवादी कार्यको डटेर सामना गर्ने छ,’ कोइरालाले भनेका छन् ।

यस्तै, नेता शेखर कोइरालाले तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएर प्रशासनले कानुनको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन्, ‘पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको छ । पौडेललाई तत्काल ससम्मान रिहाइको माग गर्दछु ।’

नेता प्रकाशमान सिंहले वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती शुरु गरेको बताएका छन् । सिंहले नेकपाको सरकारको असली चरित्र उदाँगो भएको पनि बताएका छन् ।
उनले पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि नै धरपकड शुरु गरेर नेकपाको सरकारले आफ्नो दिनगन्ती शुरु गरेकोे बताए ।

नेता सिंहले पौडेललाई रिहा नगरिए कांग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै घटनाको छानबिन गर्नसमेत माग गरेका छन् ।

पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको घटनाको नेपाली काङ्ग्रेस संसदीय दल गण्डकीले भत्सर्ना गरेको छ । दलका नेता कृष्णचन्द्र नेपालीले एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट सरकारले एकदलीय सत्ताको जस्तो दम्भ देखाएको बताएका छन् ।

प्रकाशित : १७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्