रिहा भए काँग्रेस वरिष्ठ नेता पौडेल



काठमाडौं :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर रिहा गरेको छ ।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उदटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले उनलाई आन दिउँसो तीन नियन्त्रणमा लिएको थियो । प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेर आजै साँझ उनलाई रिहा गरेको छ । उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरवण वाग्लेको रोहबरमा रिहा गरिएको हो ।

रिहाइपछि पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन् । तनहुँमा भएको तनावका बीच प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको छ ।

पौडेलको रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय तनहुँको बाहिर प्रदर्शन गरेको थियो । सरकारको विरोध र टायर बाल्दै रिहाई मागमा प्रदर्शन गर्दै केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो ।

प्रकाशित : १७ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्