कैलालीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुला–बेहुलीसहित १३ जना घाइते



काठमाडौं : बैतडीबाट जन्ती बोकेर कञ्चनपुरतर्फ आइरहेको जीप कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

बुधबार राति गोदावरी नगरपालिका–४ गाईमारास्थित भीमदत्त राजमार्गमा सु.प.प्र.०१००१ ज.१२५४ नम्बरको जन्ती बोकेको जीप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन् ।

दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका– ६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् ।

जीप चालक पुर्नवास नगरपालिका–२ का ३० वर्षीय वीरबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

त्यस्तैगरी कञ्चनपुरकै बेहुला पट्टीका पुनरवास नगरपालिका–३ का २१ वर्षीय राजु पार्की, कृष्णपुर नगरपालिका–३ का २६ वर्षीय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी छन् ।

यस्तै बेलौरी नगरपालिका–३ का १४ वर्षीय विशाल चौधरी, सोही ठाउँका २१ वर्षीय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी वर्ष २५ की राधा चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै, बेहुली पक्षका बैतडी दोगडा केदार गाउँपालिका–८ का १५ वर्षीय शेर लावड, दोगडा केदार गाउँपालिका ६ का ५० वर्षीय लक्षी लुहार र सोही ठाउँका २० वर्षका अर्जुन लुहार घाइते छन् ।

घाइते १२ जनाको अतरियास्थित पदम अस्पताल उपचार भइरहेको छ । गम्भीर घाइते रहेका चालकको धनगढीको मायामेट्रो अस्पतालमा उपचार गरिएको छ ।

दुर्घटना के कारणले भयो भन्ने अहिलेसम्म खुल्न नसको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्