पूर्व गृहमन्त्री स्वाँरको निधन



काठमाडौं : सुदूरपश्चिम घर भएका पूर्व गृहमन्त्री नयनबहादुर स्वाँरको निधन भएको छ ।

२०३८ सालमा सूर्यबहादुर थापाको नेतृत्वमा निर्वाचित मन्त्रीमण्डलमा गृहमन्त्री रहेका स्वाँरको ९३ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको हो ।

वि.स.१९८४ साल भदौमा अछामको रिडिकोटमा जन्मिएका उनी २०३७ सालमा कानुन तथा न्यायमन्त्री तथा २०३८ को असारमा गृहमन्त्री भएका थिए भने पञ्चायत कालको अन्तिममा मन्त्रिमण्डल २०४६ मा केही समय गृहमन्त्री भएका थिए ।

उनी २०२४, २९, ३६ र ३८ सालमा गरी ४ पटक राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए । २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए ।

२०४६ सालपछि केही वर्ष राप्रपाबाट राजनितिमा सक्रिय रहेका थिए । उनी २०१६ सालमा नेपाल राष्ट्रवादी गोरखा परिषद्को तर्फबाट संसदको माथिल्लो सदन (महासभा) को सदस्यमा निर्वाचित भएका थिए । स्वाँरका श्रीमती, २ छोरा र २ छोरी छन् ।

प्रकाशित :१८ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्