रसियामा कोरोनाविरुद्धको खोप लगाउन शुरु



एजेन्सी : रसियामा कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम शुरु भएको छ । पहिलो चरणमा राजधानी मस्कोमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । यहाँ संक्रमणको उच्च जोखिममा रहेकाहरुलाई खोप लगायन थालिएको बीबीसीले जनाएको छ ।

रसियामै बनेको खोप ’स्पुट्निक भी’ अगस्टमा दर्ता भएको थियो । उत्पादकहरूले उक्त खोप ९५ प्रतिशत सुरक्षित भएको बताएका छन् । जसले कुनै पनि किसिमको असर गर्ने उनीहरूको दावी छ । खोप अझै परीक्षण भइरहेको छ ।

बीबीसीका अनुसार हजारौं मानिसले खोप लगाउनका लागि नाम दर्ता गराएको छ । रसियाले कति मात्रामा खोप उत्पादन गर्न सक्छ भन्ने विषय चाहिँ प्रष्ट छैन । उत्पादकले यस वर्षको अन्त्यसम्ममा २० लाख खोप बनाउने बताएको छ ।

मस्कोका मेयर सर्गेइ सोब्यानिनले खोप कार्यक्रम यसै साता घोषणा गरेका हुन् । सुरुवाती चरणमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय एवं सामाजिक कार्यमा लागेकाहरूले खोप पाउनेछन् । १८ देखि ६० वर्ष उमेर समूहकाले खोपका लागि आवेदन दिन पाउनेछन् ।

प्रकाशित : मंसिर २०, २०७७

प्रतिक्रिया दिनुहोस्