राजतन्त्रको पक्षमा प्रदर्शन : स्वस्र्फूत कि नियोजित ?



काठमाडौं : राजासहित हिन्दू राष्ट्रको लागि राजधानीसहित देशको विभिन्न ठाउँमा अहिले लगातार भइरहेको राजावादीहरुको प्रदर्शनबाट सबैभन्दा बढी कोही हौसिएका छन् भने उनी हुन राप्रपा अध्यक्ष कमल थापा । थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखे,‘हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगार, धर्मपरिवर्तनको विरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ ।’ उनले स्पष्ट रुपमा अहिले जारी राजावादीको प्रदर्शनको लगाम समातेको सन्देश दिएका छन् । उनको यो अभिव्यक्तिले राप्रपा आफ्नो पुरानो एजेन्डामा फर्किन लागेको हो कि भन्ने आभास पनि दिएको छ ।

राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गरिरहेका कमल थापा उही व्यक्ति हुन जो गणतन्त्र आएपछि तीन पटक उपप्रधानमन्त्री भए । उनी केपी ओली नेतृत्वको सरकारमा २५ असोज २०७२ देखि २० साउन २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन २०७३ देखि २२ चैत २०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री र शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज २०७४ मा उपप्रधानमन्त्री भए । गणतान्त्रिक व्यवस्थामा पनि राजावादी भएर सरकारमा जान सक्ने क्षमता उनले प्रदर्शित गरे । अहिले देशका विभिन्न ठाउँमा भइरहेको राजतन्त्र पक्षधरहरुको आन्दोलनको लगाम समात्न उनले दाउ खोजिरहेका छन् ।

राजावादीको जुलुसमा युवा शक्तिको आकर्षण बढेको मौकामा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयासमा थापा छन् । राजतन्त्र पक्षीय अभियानमा लागेका व्यक्तिहरुलाई उनले आफ्नो तर्फबाट पार्टीगत समर्थन रहने भन्दै हौस्याउने गरेको पाइन्छ ।

नेपालमा राजतन्त्र विधिवत् रुपमा अन्त्य भएको १२ वर्ष भएको छ । जनआन्दोलन २०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ३८ वर्ष लामो शाहवंशीय राजसंस्थालाई अन्त्य भएको घोषणा गरेको थियो । १२ वर्षपछि खोलो फर्किन्छ भने जस्तै अहिले देशैभर व्यापक रुपमा राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै प्रदर्शन भइरहेको छ । पछिल्लो समय देशका प्रमुख सहरहरुमा वर्तमान व्यवस्था विरोधीको सडक उपस्थिति देख्न सकिन्छ । काठमाडौँ, विराटनगर, धनगढी, जनकपुर, पोखरा, नेपालगञ्ज, बुटवलसहितका ठाउँमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले वर्तमान संघीय व्यवस्थाको विरोध र पूर्व राजाको पक्षमा नाराबाजी गरिहेका हुन् ।

राजसंस्थाको अन्त्य भएसँगै यसको पक्षमा नारा लाग्दै आएको हो । त्यतिबेला नै देखि असन्तुष्ट राजावादीहरुले राजतन्त्र र हिन्दू राष्ट्रको पुनस्र्थापनाको माग गर्दै आइरहेका हुन । १२ वर्ष बितिसक्दा पनि उक्त माग सेलाएको छैन । बरु झन् उग्र हुँदै गइरहेको छ । पछिल्लो समयमा राजावादीहरुको प्रदर्शन भइरहँदा पूर्व राजा ज्ञानेन्द्र शाह भने मौन छन् तर राजतन्त्रको वकालत गर्ने राप्रपाले मुख खोलेको छ र यी प्रदर्शनहरुको जस लिने दाउमा छ । राजतन्त्रको समाप्ति पछि देशका दुई संविधानसभाको निर्वाचन र आम निर्वाचन भयो र ती निर्वाचनहरुका राजतन्त्रको वकालत गर्ने दलहरु नराम्ररी पराजित भए । नयाँ संविधान जारी पछि भएको पहिलो संघीय निर्वाचनमा राप्रपाका नेता राजेन्द्र लिङदेन एक जना मात्र निर्वाचन जिते । राजतन्त्रको माग गर्ने राप्रपाकै ठूला नेताहरु पराजित भए । संघ र प्रदेशमा मात्र होइन स्थानीय तहमा पनि ती दलहरुको प्रतिनिधित्व छैन । यसले के संकेत गर्छ भने जनताले अझै राजावादी दलहरुलाई मन पराएका छैनन् र राजतन्त्रको पक्षमा पनि छैनन् ।

तर अहिले भइरहेको राजावादीहरुको प्रदर्शन भने वर्तमान व्यवस्थाप्रतिको असन्तुष्टि भन्दा सुशासनको अभाव, भ्रष्टाचार आदि कारणले हो । झण्डै दुई तिहाइ बहुमत नजिक रहेको सरकारले देश र जनताका समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको मौकालाई राजावादीहरुले ‘सदुपयोग’ गर्न खोजेका हुन् । जनतामा सरकारप्रति असन्तुष्टि बढिरहेको र दलहरु आन्तरिक द्वन्द्वमा फसेको समयलाई यो व्यवस्थाप्रति नै प्रहार गर्ने उपयुक्त अवसरका रुपमा राजावादीहरुले मौका छोपेका हुन् । यसै कुरालाई राजावादी दलले ‘क्यास’ गर्न खोजिहेका छन् ।

राजसंस्थाको पक्षमा प्रदर्शन हुन थालेपछि यो विषय राजनीतिक रूपमा फेरी चर्चाको विषय बनेको छ । राप्रपाका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मंसिर १४ गते एक सन्देश जारी गरी नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दू राष्ट्रको माग गर्ने जनताको आवाज सकारात्मक र सराहनीय रहेको बताए । अहिले एकाएक राजाको पक्षमा मान्छे सडकमा आउनुका पछाडि शासकका कारण थपिएको चरम निराशा रहेको विश्लेषण गरिन्छ ।

विश्लेषकहरुका अनुसार देश र जनताका समस्याप्रति राजनीतिक दलका नेताहरुको उदासीनताका कारण पछिल्ला दिनमा यो व्यवस्थाप्रति नै जनतामा असन्तुष्टि बढ्न थालेको हो । अहिले अपनाइएको संघीय शासन प्रणालीप्रति नै आम मानिसले असन्तुष्टि देखाउन थालेका छन् । व्यवस्था र नेतृत्वप्रति मानिसमा एक प्रकारले वितृष्णा बढ्दै गएको परिणामस्वरुप अहिले देशका विभिन्न भागमा राजावादी आन्दोलन सुरु भएको हो ।

यहाँ एउटा कुरा बझ्नु के जरुरी छ भने राजसंस्था न सडक र आन्दोलनबाट फालिएको थियो, न त यसलाई जुलुस र आन्दोलनले नै पुनस्र्थापना गराउन सक्छ । जुलुस र आन्दोलन गरेर राजसंस्था फर्किन्छ भन्ने होइन तर अहिले भइरहेको प्रदर्शन बेलगाम छ र कसले गरिरहेकोे भन्ने अज्ञात छ । यस प्रदर्शनमा ‘राजा आऊ देश बचाऊ’ नारा लागे पनि उनीहरुको चिन्ता वर्तमान नेतृत्वप्रति छ ।

दसैँमा पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जारी शुभकामना सन्देशको अन्तर्य नै गणतन्त्रविरोधी प्रदर्शनको आधार बनेको धेरैको बुझाइ छ । उनले कात्तिक ६ मा दसैँको अवसरमा दिएको शुभकामना सन्देशमा राजनीतिक दल र अहिलेको नेतृत्वमाथि कटाक्ष गरेका थिए । नेपाली जनता अभिभावकविहीन, टुहुरा बनेको पीडाबोध भएको भन्दै उनले सन्देशमा आज सबैले आसुरी र भष्मासुरी प्रवृत्तिबाट उन्मुक्ति चाहिरहेको टिप्पणी गरेका थिए ।

पूर्वराजाको इच्छाविपरीत दरबारका तत्कालीन सहयोगी, राजतन्त्रका समयमा राजपरिवारका सदस्यको वरिपरि रहेर कुनै न कुनै रुपमा फाइदा लिएका व्यक्ति तथा समूहले अहिले राजावादीका नाममा गणतन्त्र र संघीयताविरोधी अभियान सुरु गरेका बुझाइ धेरैको छ ।

प्रकाशित :२० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्