विराटनगरमा आगलागी हुँदा एकको मृत्यु, दुई घाइते



विराटनगर : विराटनगर महानगरपालिका–१४ झटीयाहीस्थित एक घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

चिसो भगाउन भन्दै बालेको घुरको आगोले राजेशकुमार दास तत्माका घरमा आगलागी हुँदा उनका १४ वर्षीय छोरा रविनको मृत्यु भएको हो । साथै उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जलेको हो ।

घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा राजेशकुमार भने घरमा थिएनन् ।

राति बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए ।

प्रकाशित : पुस ५, २०७७

प्रतिक्रिया दिनुहोस्