संसद भवनमै प्रचण्ड–नेपाल समूहको भेला शुरु



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरुको बैठक नयाँ बानेश्वरमा शुरु भएको छ ।

प्रचण्ड र नेपाल समूहले बानेश्वरस्थित संसद् भवनकै एक हलमा संघीय संसदका दुवै सदनका सांसदहरुको सोमबार भेला गरेको हो । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला शुरु भएको भेलामा प्रचण्ड र नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् ।

प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा गरेको भोलिपल्ट अर्थात् सोमबार प्रचण्ड र नेपालले सांसदहरुको बैठक बोलाएका थिए । भेलामा सहभागी हुन बानेश्वर पुगेका सांसदहरुलाई हस्ताक्षर समेत गर्न लगाइएको छ ।

यता प्रचण्ड–नेपाल समूहको भेलामा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन् ।

यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरेका थिए । आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका हुन् ।

उक्त भेलामा पनि थापा र गौतम सहभागी भएका थिएनन् । उपाध्यक्ष गौतम सचिवालयका पाँच शीर्ष नेताहरुको छलफलमा सहभागी हुँदै आएपनि प्रतिनिधिसभा विघटनको कदम चालेपछि दुवैतिरको भेलामा सहभागी भएका छैनन् ।

प्रचण्ड र नेपाल समूहको हिजो बसेको स्थायी कमिटी बैठकले संसद् विघटन गर्ने कदमलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो । त्यसैको निरन्तरतामा यो समूहले आज सांसदहरुको भेला आयोजना गरेका हो । हिजोमात्रै प्रचण्ड–नेपाल समूहका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित : पुस ६, २०७७

प्रतिक्रिया दिनुहोस्