सशस्त्र प्रहरीका इन्सपेक्टरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं : सशस्त्र प्रहरी बलका इन्सपेक्टरसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) कपिलवस्तु कृष्णनगरका इन्सपेक्टर निरञ्जनराज कार्की र हवल्दार लिलबहादुर गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको हो ।

हवल्दार गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ३५ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोगले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा गुरुङले आफ्नो कार्यालयका प्रमुख इन्सपेक्टर कार्कीको निर्देशनमा सेवाग्राहीलाई भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी घुस लिएको बयान दिएका थिए ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पाइएकाले सोही अनुसार कारबाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : पुस ८, २०७७

प्रतिक्रिया दिनुहोस्