कविता : कति लामो हुँदो रहेछ देशले बस्ने किरिया ?



मुडुलो टाउको लिएर यो जाडोमा

पातलो सेतो धोती बेरेको देश

सिउसिउ गर्दै किरिया बसेको छ 

माकटोपी लगाएका नेताहरू

गलबन्दी बेरेर सुनाइरहेछन् गरुड पुराण

र हामी दान गरिरहेछौँ ठूला साना सपनाहरू

उनीहरूले भने, 

तिमीहरूको पसिनाले तार्दैन वैतरिणी नदी

पत्यायौँ र दियौँ हामीले रगतको तर्पण 

धर्मान्ध भएर हामीले दान गर्‍यौं

मतसँगै मति पनि

विवेक र तर्कको त दियो कलश गरेकै हौँ

अब हामीसँग ‘विद्वान’ले मात्र देख्ने

फगत एक जोर लुगा बाँकी छ

भोका त सधैँ थियौँ कुन ठूलो कुरो भो र

अब त आफ्नै आँम्खामा हामी नाङ्गै भइसकेका छौँ

तर पनि, रोकिएको छैन गरुड पुराण

ए साँच्ची, कसैलाई थाहा छ ?

कति लामो हुँदो रहेछ देशले बस्ने किरिया ???

– ब्रजेश खनालको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्