मनकामना मन्दिरमा २१ औँ पुस्तादेखि एउटै परिवारको मूल पुजारी



गोरखा : एक्काइसौँँ पुस्तासम्म कुनै मन्दिरको मूल पुजारी हुँदै आएको सुन्दा अचम्म लाग्ला तर गोर्खाको मनकामना मन्दिरमा एउटै परिवारको २१ औँ पुस्ताले मूल पुजारीका रुपमा अहिलेसम्म काम गरिरहेका छन् । मन्दिरका मूल पुजारी इन्सानबहादुर थापा मगरले आफू २१ औँ पुस्ताका रुपमा मगर पुजारी बनेको बताए । 

उनका अनुसार राजाराम शाहका रानीको नामबाट मनकामना मन्दिर रहेको हो । राजपरिवारमा सुसारेको रुपमा रहेका लखन थापामगरका पालादेखि यस मन्दिरमा इन्सानका पुस्ताले मुख्य पुजारीको रुपमा काम गर्दै आएका हुन् । उनले भने, “यसको स्थापना कालदेखि नै मगर समुदाय मूल पुजारी हुँदै आएको २१ औँ पुस्ता पुग्यो । मेरा बुबा लोकबहादुर र बाजे प्रेमबहादु पनि यहाँकै पुजारी हुनुहुन्थ्यो ।” 

लखन थापामगर राज परिवारको सुसारे हुँदै गर्दा राजाको निधनपछि रानी सति जाने समयमा उनलाई म तिमीलाई फेरि मेरो सेवा गर्ने मौका दिने छु भनी सति गएको र पछि खेत जोत्दा शिला भेटिएपछि मन्दिर स्थापना गरी पूजा गर्न लागिएको उनले बताए । अहिले मनकामना मन्दिरमा सोही वंशजको जेठो छोराले मूल पुजारीको नेतृत्व सम्हाल्दै आएको छ । 

आफूले विसं २०२६ मा १० वर्षको उमेरदेखि पुजारीका रुपमा काम गर्दै आएकामा त्यसको १४ वर्षपछि मूल पुजारीको भूमिका निर्बाह गरेकोे इन्सानले बताए । काकाले बाबुको शेषपछि आफू मूल पुजारी हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरे पनि आफ्नै पक्षमा फैसला भएपछि आफूले मूल पुजारीको रुपमा २०४० सालदेखि काम गरिरहेको र आफ्नो जेठो छोरा निसानले अहिले पुजारीको काम सिकिरहेको उनले बताए ।

सन्तानमा जेठो छोरा नभएर छोरी भएमा भाइमा मूल पुजारीको जिम्मेवारी सर्ने इन्सानको भनाइ थियो । मन्दिरमा मूल पुजारीसहित पाँच पुजारीले काम गर्दै आएका छन् । शहीद लखन गाउँपालिका–२ मा पर्ने सो मन्दिर स्थापनाकालदेखि नै पुजारीका रुपमा रहेका मगर समुदायका साथै हरेक पर्वमा मन्दिरमा हुने पुजामा काठमाडौँबाट तान्त्रिक गुरुहरुसमेत आउने गरेका छन् ।

अहिले मन्दिरमा रहेका पुजारीमध्ये एक बह्माण समुदायको र अन्य पुजारी मगरकै घर परिवारका सदस्य छन् । त्यहाँ उठेको भेटीले यी सबै खर्च पुर्‍याउनु पर्ने इन्सानले बताए ।

मनकामना देवीको शक्ति अजिवको रहेको चर्चा गर्दै उनले देशमा भएका महत्वपूर्ण घटनामा कुनै न कुनै रूपमा अग्रिम सङ्केत मिल्ने र दरबार हत्या काण्ड, विनाशकारी भूकम्पजस्ता घटनामा आफूले पहिले नै सङ्केत पाएको जानकारी दिए । मनकामना केबुलकार बन्ने विषयमा पनि पहिले नै सङ्केत मिलेको इन्सानको भनाइ थियो ।

मूल पुजारी मगरका अनुसार उनीहरु नियमित चोखो भएर पूजामा बस्नुपर्ने भएकाले घर परिवारमा जुठो पर्दा कुटुम्बले यो काम हेर्ने गरेका छन् । ठूलाठूला पूजाआजामा मदिरा नभई नहुने भएकाले प्रसादका रुपमा खाए पनि अन्य पूजामा भने प्रयोग नगर्ने गरेको उनले बताए । 

मनकामना मन्दिरमा पहिलेको तुलनामा अहिले भक्तजनको चाप बढ्दै गएको छ । मङ्सिर, पुस, माघ र फागुन महीनाको, शनिबार, सोमबार, मङ्गलबार र शुक्रबार भक्तजनको भीड लाग्ने गरेकामा अहिले जुनसुकै बार पनि भक्तजनको घुइँचो हुने मूल पुजारी इन्सानले बताए ।

प्रतिक्रिया दिनुहोस्