त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललार्इ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले डुबाएपछि



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेबापत खासगरी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबाट असुल्नुपर्ने सेवा शुल्क उठाउन अन्तर्राष्ट्रिय रूपमै पहल थाल्ने अधिकारीहरूले बताएका छन्।

 

नागरिक उड्डयन प्राधिकरणले हालै १३ करोड रुपैयाँ नतिरी नेपालको उडान बन्द गरेको एयर एशिया लगायत अन्य २ दर्जनभन्दा बढी वायुसेवा कम्पनीसँग बक्यौता उठाउन बाँकी रहेको बताइएको छ।

 

दुई हप्ताअगाडि मलेशियाको विमान कम्पनी एयर एशियाले नेपालमा उडान बन्द गर्ने निर्णय गर्दा विमानस्थल प्रयोग गरेबापतको १३ करोड रुपैयाँ बक्यौता तिरेको छैन।

 

एयर एशियापछि गल्फ एयरले २ करोड रुपैयाँ भन्दा बढी नतिरेको बताइएको छ। नेपालमा यसरी सेवा बन्द गर्दै शुल्क नतिर्ने वायुसेवा कम्पनीहरूको सङ्ख्या २ दर्जन भन्दा बढी रहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए।

 

अब बक्यौता रकम उठाउन अन्तर्राष्ट्रिय रूपमै दबाब बढाउन थालिएको बताउँदै उनले भने, "अन्तर्राष्ट्रिय रूपमा केही संस्था छन् जहाँ हामीसँगै आबद्ध छौँ। त्यस्ता संस्थामा हामीले लेखेर पठाएमा उनीहरु तिर्न बाध्य हुनेछन्।"

 

नियमित उडान गरिरहेका कम्पनीहरूबाट रकम असुल्न समस्या नभए पनि बक्यौता रकम लामो समयसम्म नउठाउँदा समस्या कचल्टिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरू बताउँछन्।

 

एकताका एयर एशियाको बक्यौता रकम ४१ करोड रुपैयाँसम्म पुगेको थियो। मन्त्रालयले भने शुल्क उठाउन ढिलाइ गरे सम्बन्धित निकायका कर्मचारीहरूलाई कारबाहीसम्म गर्न सकिने जनाएको छ।

 

पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा भन्छन्, "मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई नियमित रूपमा रकम असुल्न भन्ने हो। यदि निर्देशन पालना भएन भने कर्मचारीहरूलाई सेवा शर्तसम्बन्धी कारबाही गरिनेछ। "

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा शुल्क, नेपाल वायुसेवा निगमलाई 'ग्राउन्ड ह्यान्डलिङ' शुल्क र नेपाल पर्यटन बोर्डलाई पर्यटन शुल्क बुझाउनुपर्छ।

जसबापत सरकारले वर्षमा अर्बौं रुपैयाँ कमाउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्