आख्यानकार गौतमलाई युगकवि सिद्धिचरण पुरस्कार



काठमाडौँ : युगकवि सिद्धिचरण प्रतिष्ठानले आख्यानकार डा ध्रुवचन्द्र गौतमलाई यस वर्षको ‘युगकवि सिद्धिचरण पुरस्कार –२०७६’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष बैरागी काइँलाको अध्यक्षतामा आज बसेको बैठकले आधा शताब्दीभन्दा अघिदेखि नेपाली वाङ्मयमा विशेष गरी आख्यान विधामा महत्वपूर्ण योगदान दिइरहनुभएका गौतमलाई रु १ लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । गौतमका दुई दर्जन बढी उपन्याससहित ५० भन्दा धेरै कृति प्रकाशित छन् ।

यसैगरी प्रतिष्ठानले यस वर्षको ‘युगकवि सिद्धिचरण पत्रकारिता पुरस्कार–२०७६’ आधा शताब्दी अघिदेखि पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु-याउनुहुने वरिष्ठ पत्रकार होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि रु ५१ हजार छ ।

पुरस्कार पाउने प्रतिभा चयनका लागि प्रतिष्ठानका उपाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा प्रा डा उषा ठाकुर र सूर्यबहादुर सेन सदस्य रहनुभएको पुरस्कार छनौट उपसमिति गठन गरिएको थियो । पुरस्कार युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औँ जन्म जयन्तीको अवसरमा आगामी जेठ ९ गते प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्