पानीमा चुर्लुम्म डुब्ने भएपछि इन्डोनेसियाले राजधानी सार्ने



काठमाडौं : इन्डोनेसिया सरकारले देशको राजधानी जकार्ताबाट सार्ने विषयमा विचार गरिरहेको छ । जकार्ता पोस्टका अनुसार, राष्ट्रपति जोको विडोडोको सरकारले जकार्तामा भीडभाड धेर भएको र वातावरणीय समस्याका कारण राजधानी सार्ने निर्णय लिएको हो । 

नयाँ राजधानी कहाँ राख्ने भनी पुष्टि भइसकेको छैन तर विडोडो सरकारले नयाँ शहर बनाएर केन्द्रीय प्रशासन त्यहीँ राख्ने अनुमान छ । इन्डोनेसियाको नेसनल डेभलपमेन्ट प्लानिङ एजेन्सीले मंगलवार बिहान क्याबिनेट बैठकमा राजधानी सार्ने योजनाको प्रारम्भिक अध्ययन निष्कर्ष पेश गरेको छ । 

एजेन्सीका प्रमुख बाम्बाङ ब्रोडजोनेगोरोले भने, ‘बैठकमा तीन विकल्प पेश गरिए । पहिलो, जकार्तालाई नै राजधानी राख्ने तर क्षमता बढाउनका लागि सरकारी जिल्ला केन्द्रहरूलाई राष्ट्रपति भवन र राष्ट्रिय स्मारकनजिक निर्माण गर्ने ।

दोस्रो विकल्प, नयाँ राजधानी जकार्ताबाट ५० देखि ७० किलोमिटर पर राख्ने । तेस्रो, जाभाबाहिर राजधानी स्थापित गर्ने र देशको मध्यभागमा राजधानी पार्ने । जकार्ताको आधी भाग समुद्र स्तरभन्दा तल छ र खाली ठाउँ घट्दै गएको छ । यो सन् २०२५ मा ४० सेन्टिमिटर अझै तल जानेछ । यसपछि समुद्रको पानी राष्ट्रपति भवन पनि पानीमुनि पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्