वसन्तीमाथि एसिड प्रहार गर्ने विमललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश



काठमाडाैं : जिल्ला अदालत नवलपुरले छिमेकी वसन्ती परियारमाथि एसिड र चक्कु प्रहार गरी गम्भीर घाइते बनाउने नवलपुर कावासोती नगरपालिका–१६ विमल श्रीपाली पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

 

जिल्ला न्यायाधीश पूर्णप्रसाद बास्तोलाको एकल इजलासले थुनछेक आदेश गर्दै उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो।

 

असोज ८ गते तरकारी किनेर बजारबाट फर्कंदै गर्दा छिमेकी युवक विमलले वसन्तीमाथि एसिड आक्रमण गरेका थिए। एसिड आक्रमणपछि उनले अन्धाधुन्ध चक्कुले शरीरका विभिन्न भागमा आक्रमण गरेका थिए।

 

श्रीपालीलाई ज्यान मार्ने उद्योग एसिड प्रहार र अंगभंग शीर्षकमा मुद्दा  दायर गरिएको छ। नयाँ मुलुकी फौजदारी संहितामा एसिड आक्रमणलाई ८ वर्षसम्मको कैद सजाय व्यवस्था गरिएको छ। यसअघि यस्तो व्यवस्था थिएन।

 

एसिड आक्रमणको मुद्दामा ५ देखि ८ वर्षसम्म जेल सजायको हुने नयाँ व्यवस्था छ। ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म जेल सजायको व्यवस्था छ। दुवै अभियोग ठहर भएका उनले सजाय भोग्नु पर्ने छ।

 

एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी बसन्तीको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ। उनको अनुहार तथा शरीरका विभिन्न भागहरु जलेको छ। उनको स्वास्थ्य अवस्था सुधारा भइरहेको छ।

 

एसिड आक्रमणबाट महिलाको शरीरको २५ प्रतिशत भाग जलेको थियो। विमलले विवाह गर्न प्रस्ताव गरेपछि बसन्तीले अस्वीकार गर्दा एसिड आक्रमण गरेको प्रहरीले बयान दिएका थिए। एसिड आक्रमणपछि श्रीपालीले प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्