प्रचण्डसँगको भेटपछि बाबुरामले भने- एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने ?



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा विघटन विरुद्ध दलहरुको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताएका छन् ।

शुक्रबार साँझ ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी ओलीको संसद विघटन निर्णयविरुद्ध नेपाली काँग्रेस, प्रचण्ड–माधव नेकपा र जसपाको एक्लाएक्लै जनप्रदर्शन राम्रै नदेखिएको बताएका हुन् । शुक्रबार साझ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि भट्टराईले एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने भनेर नेताहरुलाई प्रश्न गरेका छन् ।

आम जनताको वितृष्णा, भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिङलाई कम नआँक्न उनको आग्रह छ । भट्टराईले लेखेका छन्, ‘ओलीप्रतिगमन विरूद्ध नेका,प्रचण्ड(माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्। तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं ! आम जनताको वितृष्णा, भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआँकौं । एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने? सोचौं !’

प्रचण्ड र भट्टराई बीच शुक्रबार लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा गोप्य छलफल भएको थियो । छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको बताइएको छ ।

अहिले जसपा नेपाल र नेकपा प्रचण्ड–माधव समूह प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरुद्धमा आन्दोलन गरिरहेको छ । सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकीकरणका बेला पनि अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई पार्टीमा आउन आग्रह गरेका थिए । त्यसछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिक्रिया दिएका थिए । अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्