हजारौं अस्थायी कर्मचारीले गरे सिंहदरबारमै धर्ना



काठमाडौं : मन्त्रालय तथा विभाग खारेजीको क्रममा बर्खास्त भएका तथा भुमिका बिहिन भएका हजारौं सरकारी अस्थायी कर्मचारीहरु आन्दोलित भएका छन् ।

पुनर्वाहलीको माग गर्दै उनीहरुले सोमबार सिंहदरबारमा धर्ना दिइरहेका छन् । आइतबारदेखि सुरु भएको उनीहरुको आन्दोलनमा २ हजारको संख्यामा कर्मचारी छन् ।

दसैंअघि नै खारेजीमा परे पनि उनीहरुले दसैं सकिएपछि आन्दोलन थाले । ‘अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी तथा ठेकदारी कर्मचारी श्रमिक संघ’को नाममा उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अघि नै धर्ना दिइरहेका छन् ।

शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेका कर्मचारीहरुले तिहारसम्म पनि आफ्ना माग सुनुवाइ नभए आन्दोलन चर्को रुपमा बढाउने आन्दोलनकारी कर्मचारी विक्रमबन्धु न्यौपानेले बताए । न्यौपानेका अनुसार उनीहरुले आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई भेट गरी ज्ञापनपत्र बुझाउने छन् ।

श्रम ऐन अन्तरगत २ सय ४० दिनसम्म सरकारी सेवामा रहेर काम गरेका कर्मचारीलाई स्थायी, महंगी भत्ता बढाउने, बर्खास्तीमा परेकालाई पुनर्वाहली गर्नुपर्ने लगायत ६ बुँदे माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

 यो आन्दोलनमा देशभरी बर्खास्तीमा परेका तथा अन्य ३२ हजार कर्मचारीको साथ रहेको बताइएको छ । यस आन्दोलनको संयोजकत्व कुमार राउतले गरिरहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्