संसद पुनर्स्थापना नै संकटको निकास : निधि



वीरगञ्ज : नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधि सभाको प्राप्तिले मात्र हुने बताएका छन् । उनले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधि सभाको प्राप्तिले मात्र हुने प्रष्ट पारे ।

काँग्रेस बुथ कमिटी बगहीले वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधि सभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताए । उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधि सभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रतिनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गरे ।

प्रतिनिधि सभाको पुनःस्थापना वा निर्वाचन दुवै माध्यमबाट प्राप्त भएको प्रतिनिधि सभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पारे । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा सहभागी काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वशिक्षामन्त्री चित्रलेखा यादवले असंवैधानिकरूपमा प्रतिनिधि सभा विघटन गरी सरकारले जनताले दिएको मतको अपमान गरेको बताइन् । उनले बहुमत प्राप्त भएको सरकारलाई प्रतिनिधि सभा विघटन गर्ने संविधानमा कुनै व्यवस्था नभए पनि वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गरी आमनेपाली जनताले दुई तिहाइ नजिक दिएको मतको अपमान गरेको धारणा व्यक्त गरिन् ।

काँग्रेस बुथ कमिटी बगहीका अध्यक्ष सरजुग महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य फरमुलाह मन्सुर, सदस्य अजयकुमार चौरसिया, गगन थापालगायतका नेताले पद, पैसा र प्रतिष्ठानको लोभका कारण मुलुक राजनीतिक संवैधानिक सङ्कटमा फसेकोे बताए । उनीहरूले नेकपाभित्रको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा विभिन्न आन्दोलन र हजारौँको शहादतबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई नै धरापमा पारेको बताए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकालाई उपसभापति निधिले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्