जसपा अध्यक्ष ठाकुर दिल्ली प्रस्थान, विभिन्न चर्चा परिचर्चा



काठमाडौं : प्रतिनिधि सभा विघटनसँगै मुलुकमा राजनीतिक अस्थिरता बढेकै बेला जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर भारत गएका छन्। यो बेला उनको भारत भ्रमणलाई विशेष चासोको रुपमा लिइएको छ ।

यद्यपि ठाकुर उपचारको सिलसिलामा भारत गएका जसपाका नेताहरुले बताएका छन् । जसपाका नेता केशव झाका अनुसार अध्यक्ष ठाकुर मेदान्त अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि दिल्ली गएका हुन् । कोरोना भाइरस संक्रमण शुरु भएसँगै मेदान्त अस्पतालमा अन्य उपचार बन्द थियो । जसले गर्दा ठाकुरले नियमित स्वास्थ्य जाँच गराउन पाएका थिएनन् । यसबीचमा उनले नर्भिक अस्पतालमा मुटुको उपचार गराउँदैआएका थिए । उनी आइतबार भैरहवा भएर स्थलमार्ग हुँदै दिल्ली गएका बताइएको छ । उनी ४÷५ दिन दिल्लीमा रहने छन् ।

ठाकुरको भारत भ्रमण एक पन्थ दुई काज भनेझै उपचार पनि हुने र राजनीतिक वार्तासमेत हुने स्रोतले जनाएको छ । जसपाभित्र अहिले दुई धार देखिएको छ । प्रतिनिधि सभा विघटनपछि आन्दोलनमा जानुपर्ने उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको मत छ भने निर्वाचन भए सहभागी हुनुपर्ने ठाकुर, राजेन्द्र महतो र अनिल झा लगायतका नेताको मत छ । त्यही भएर जसपाभित्र आन्तरिक मतभिन्नता भुसको आगो झै बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्