एक नेपालीसहित ११ शव बरामद, डेढ सयभन्दा बढी अझै सम्पर्कविहीन



भारतमा हिमनदी विस्फोट
काठमाडौँ । भारत, उत्तराखण्डको चमोलीमा हिमनदी फुटेर धौलीगंगालगायत नदीहरूमा आएको बाढीमा बेपत्तामध्ये थप तीन जनाको शव फेला परेको छ । चमोली जिल्लाका सूचना अधिकृत रवीन्द्र सिंहका अनुसार सोमबार बिहानसम्म ११ जनाको शव बरामद गरिएको छ भने अझै १५३ जनाभन्दा बढी सम्पर्कविहीन छन् ।
उद्धार टोलीले आइतबार साँझसम्म बाढीले ल्याएको हिलो र लेदोमा पुरिएका आठ जनाको शव निकालेको थियो । तीमध्ये एक नेपाली रहेको सिंहले बताएका थिए । ती नेपालीको नाम र ठेगाना अझै पनि नखुलेको उनले जानकारी दिए । हालसम्म २५ जनाको जीवितै उद्धार गरिएको पनि सिंहले बताए ।
उत्तराखण्डको जोशी मठनजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाका रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा क्षति पु¥याएको छ । हिमनदी फुटेको क्षेत्रनजिकका दुई गाउँ पनि बगाएको छ । त्यसै गरी बाढीले जोशीमठमा एउटा पुल, चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा पूर्ण रूपमा क्षति भएको सूचना अधिकारी सिंहले जानकारी गराएका छन् । उनका अनुसार त्यहाँ ३५ जनाभन्दा बढी काम गर्ने गरेकोमा १२ जनाको जीवितै उद्धार गरिएको छ । बाँकीको अवस्था अझै अज्ञात छ ।
तपोवनस्थित एनटीपीसीको विद्युत् परियोजनाको सुरुङमा अझै पनि ४० जनाभन्दा बढी फसेको आशंका गरिएको छ । सेना, प्रहरीको टोलीले उनीहरूको उद्धारको प्रयास गरिरहेको समेत सिंहले जानकारी दिए । ‘सुरुङ बाढीले ल्याएको हिलो र ढुंगाले थुनिएको छ, उद्धार टोलीले त्यसलाई खुलाउन प्रयास गरिरहेको छ,’ उनले भने । सिंहका अनुसार विरही, क्षेत्रपाल, गौचरलगायत नदी किनारामा मानिसका अंगहरू भेटिएको र त्यसको अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्