ओली इतिहासकै कलंकित पात्र बने : प्रचण्ड



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली संविधान कुल्चेर इतिहासमा कलंकित भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केपी ओली प्रतिगमनको बाटोमा हिँडेको आरोप पनि लगाए ।
प्रचण्डले आफू शान्ति र स्वतन्त्रताको पक्षमा उभिँदा आफूहरुको जित भएको र केपी ओलीको हार भएको समेत दाबी गरे । ओलीले लडाइँ हारिसकेको पनि उनले बताए
प्रचण्डले आफूहरू पदका लागि सडकमा नआएको दाबी गरे । उनले विचारका निम्ति पार्टीभित्र संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गरे ।
‘पार्टी एकतालाई बचाउनकै लागि पद छाड्दै हिँडेको र एकता जोगाउनका लागि प्रधानमन्त्री छाडेर अध्यक्ष भएर पार्टी चलाउँछु भनेर लागेको हुँ’ उनले भने, ‘पार्टीलाई अगाडि बढाउन राजनीतिक प्रतिवेदनले महत्वपूर्ण भूमिका खेल्छ ।’
‘केपीसँग परेको प्रधानमन्त्रीको निम्ति लडाइँ परेको हो पनि भन्छन्, यो सबै केपी र केपीका गुटका मान्छेले गरेको षडयन्त्र हो, हामी विचारका निम्ति, सिस्टमका निम्ति लडेको हो,’ उनले भने ।
‘हाम्रो आन्दोलनलाई र विचारलाई बदनाम गर्न षडयन्त्र भएको हो,’ प्रचण्डले भने, ‘हामी जनताको पक्षमा गयौँ, हामी लोकतन्त्रको पक्षमा गयौँ, हामी जनतासँग जोडियौँ, हामी सडकमै गयौँ, त्यसैले हामीलाई गर्व छ ।’
‘पार्टी एकताका सबै काम तीन महिनामा गर्ने भनेको तीन वर्षमा पनि सकेन, महाधिवेशनको छेउटुप्पै भेटिएन बरु पार्टी फुट्यो’ उनले भने, ‘ओली पार्टी र देशलाई अघि बढाउनुभन्दा आफ्नो स्वार्थमा केन्द्रित भइरहे ।’
‘ओलीले धेरै धक्कु गरिरहेका थिए । तर, अस्तिको प्रदर्शनपछि ओलीले आफैँ हारेको महसुश गरिसके’ उनले भने, ‘लाखौँको कुरा गरेर हिँडिरहेका थिए । उनकै सुरक्षाकर्मीले ३० देखि ३५ हजार मात्रै भएको बताए पछि थन्किसकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्