संसद पुनःस्थापना भए देशमा फेरि अस्थिरता : प्रधानमन्त्री ओली



धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तिन दिनमै सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दाको फैसला गर्ने बताएका छन् ।
कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले देश निर्वाचन तर्फ गईसकेको बताउँदै अबको २÷३ दिनमा अदालतले पनि मुद्दा टुङग्याउने बताए ।
संसद पुनःस्थापना भए देशमा फेरि अस्थिरता उत्पन्न हुने र पहिलेकै समस्याहरु दोहोरिने उनले चेतावनी दिए । ‘पुनःस्थापना भए के हुन्छ? फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ । त्यसका लागि पार्टीहरु खोज्नुपर्छ’, उनले भने, ‘कसैको बहुमत पुग्दैन । भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरता फेरि सुरु हुन्छ ।’
प्रधानमन्त्री ओलीले भने–‘कसैलाई धम्की दिन आवश्यक छैन, अदालतलाई धम्की दिने बानी पनि छैन, हामी लोकतन्त्रमा बिश्वास गर्ने हुँदा न्यायलयलाई धम्की दिदैनौँ ।‘ प्रधानमन्त्री ओलीले भने,‘यदी संसद पुनःस्थापना भयो भने प्रधानमन्त्री खोज्नुपर्छ, समीकरणमा अनेक खेल हुन्छन, सांसद किनबेच हुन्छन, विकास निर्माण लथालिंग हुन्छ ।’
अदालतले जस्तो फैसला गरेपनि आफूलाई कुनै छटपटि नहुने प्रधानमन्त्रीले बताए । उनले भने,‘हामी देश बनाउने अभियानमा भएकाले जे भएपनि फरक पर्दैन ।’ ओलीले विघटित प्रतिनिधि सभा पुनर्स्थापना भएपनि आफ्नो राजनीति नसकिने बताए । प्रधानमन्त्री ओलीले अबको केही दिनमा अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी विषयमा फैसला गर्ने भन्दै पुनःस्थापना भएपनि वा नभएपनि आफ्नो राजनीति नसकिने बताए ।
‘अहिले प्रतिनिधि सभा विघटन भएको छ । देश चुनावतर्फ अघि बढेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘केही मान्छेहरु यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन् । तर, हाम्रो राजनीति जे भएपनि सकिँदैन ।’
उनले केही दिनअघि विराटनगरमा गरेको सम्बोधनलाई स्मरण गर्दै आफूले आन्दोलन गर्ने भनेर नारा जुलुशतर्फ संकेत नगरेको स्पष्ट पारे ।
‘मैले त देश बनाउने आन्दोलन, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन भनेको थिएँ । उनीहरुले त नारा जुलुश बुझेछन्’, ओलीले भने, ‘राजनीति, अर्थतन्त्र, सामाजिक पक्ष, संस्कृति सबै पक्षको आन्दोलन निरन्तर चलिरहन्छ भनेको हु ँ। नारा जुलुश गर्ने, ढुंगा मुढा गर्ने आन्दोलन भनेको होइन ।’
प्रधानमन्त्री ओलीले महाकाली सन्धीको स्मरण गर्दै भने,‘महाकाली सन्धीमा नदी बेचेको होइन, सदुपयोग गरेको हो ।’ महाकालीको पानी लिएर भारतले सिँचाई गरिरहेको तर नेपालमा सुख्खा रहेकाले अब चाँडै कंचनपुरको दोधारा चाँदनीमा सिँचाई पुग्ने बताए ।
सम्बोधनको अधिकांश समय सुदूरपश्चिमको बिकास निर्माणमा खर्चिएका ओलीले वर्तमान सरकारले बिकास निर्माणमा चमात्कार गरेको दाबी गरे । उनले भने,‘हाम्रो काम बिध्वंश गर्ने होइन, निर्माण गर्ने हो । अब मेचि देखि महाकाली सम्म रेल कुद्छ । त्यसका लागि काम भइरहेको छ ।’
दैजी छेला औद्योगिक क्षेत्र विसं २०५२ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । नौ अर्ब लागतमा पाँच वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो ।
विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र इआइए प्रतिवेदनको स्वीकृतिको काम सम्पन्न पश्चात निर्माणका लागि बाटो खुलेको छ । औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले नौ सय बिघा जग्गा उपलब्ध गराएको भए पनि हाल चार सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ ।
औद्योगिक क्षेत्रको डिपिआर अनुसार १ सय २४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने अपेक्षा गरिएको छ ।
त्यहाँ रहेको जनचेतना सामुदायिक वनको दुई सय हेक्टर र बेदकोट सामुदायिक वनको ४ सय ५० हेक्टर जग्गााको भोगाधिकार बालाजु औद्योगिक लिमिटेडको नाममा गरिएको छ।
दुई सय ९३ बिघा जग्गामा तीन सय साना, मझौला र ठूला गरी तीन सय उद्योग सञ्चालन गर्न सकिने त्यही बेलाको प्रस्तावमा उल्लेख थियो । त्यसपछि आव २०७१–७२ को बजेटमा सुदूरपश्चिम क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई उच्च प्राथमिकतामा राखिएपछि अध्ययनको कार्य गरिएको थियो । औद्योगिक क्षेत्र पुग्ने पहुँच मार्ग निर्माणका लागि बेदकोट नगरपालिकाले काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्