शिशु हत्याको आरोपमा आमाबाबुसहित पाँच पक्राउ



बुटवल : एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित पाँच जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोलानजिकैबाट शव पनि निकालेको छ ।

शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए । डीएसपी थापाका अनुसार बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्