राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री



काठमाडौं । संसद पुनःस्थापित भएपछि पदबाट राजीनामाको दबाब परिहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने संकेत गरेका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसलापछि सर्वत्र राजीनामाको माग भएपनि प्रधानमन्त्री ओलीले राजीनामा नदिने संकेत गरेका हुन । बरु उनले नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति व्यङ्ग्य गर्दै उनीहरुले लड्डु खाएर के–के पाउँछन् हेरिरहेको समेत बताए ।
दाहाल र नेपालले अदालतको फैसलापछि मंगलबार साँझ चितवनमा एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेको विषयमा ओलीले उक्त टिप्पणी गरेका हुन् ।
‘सर्वोच्चको फैसला सामान्य कुरा हुन्,’ ओलीले माटोको विद्युतीय नक्शांकनको बुधबार राजधानीमा उदघाटन गरेपछि प्रचण्ड र नेपालप्रति व्यङ्ग्य गर्दै भने,‘लड्डु खाएछन् के पाउँछन् हेर्नुछ ।’ सर्वोच्चको फैसलाबाट विजयी जुलुस निकालेतर्फ बोल्दै प्रश्न गरे,‘के जिते ? थाहा छैन ।’
प्रधानमन्त्री ओलीले थपे, ‘मेरो विचारमा भोलि÷पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि भन्ने लागिरहेको छ । राजीनामा देउ, राजीनामा देउ । त्यतापट्टी चिन्ता गर्नु पर्दैन ।’
आफूलाई राजीनामा देऊ भनिरहेको उल्लेख गर्दै त्यतातर्फ चिन्ता नगरेको बताए । उनले हाँस्दै भने,‘मान्छे कति खेर मर्न सक्छ जिन्दगीको ठेगान छैन । जबसम्म बाँचिन्छ राम्रो काम गरिन्छ ।’ उनले पदमा रहुञ्जेल जिम्मेवारी पूरा गर्ने बताए । आफूमा हिजो र आजबीच कुनै फरक नभएको बताए । उनले भने,‘हिजो र आजमा ममा के फरक पाउनुभयो ? फरक हुनुपर्ने आवश्यकता नै छैन ।’
स्वार्थले लपेटिएकाहरुमा मात्र कुनै घटनाले फरक आउने बताए । उनले आफूलाई सूूर्यसँग तुलना गर्दै भने,‘उदाउने सूर्य पनि रातै हुन्छ, अस्ताउने सूर्य पनि रातो भएर अस्ताउँछ ।’ आफू कर्तव्य पालनामा दृढताका साथ उभिएको दाबी गरे । देश बनाउने र जनतालाई सुखी बनाउने दिशामा जीन्दगी रहेसम्म प्रतिवद्ध भएर लाग्ने बताए ।
पदमा हुञ्जेल काम गर्छु भन्ने नगर्ने र पदबाट हटेपछि पद नै छैन भनी काम नगर्ने प्रवृत्ति रहेको भन्दै त्यसमा परिवर्तन आउनुपर्ने बताए । आफूलाई कसैले नतर्साउन चेतावनी दिए । उनले भने,‘तर्साउने काम ठिक छैन । सरकार छ काम गर्छ, विकासको काम गरिरहन्छ ।’
देश विकासको सन्दर्भ र आकांशमा आफ्नो दृढ रहेको भन्दै ओलीले स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्