रियल म्याड्रिडका नवनियुक्त प्रशिक्षक मेसीका फ्यान



एजेन्सी : रियल म्याड्रिडले बार्सिलोनाविरुद्ध ५-१ को हारपछि प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गर्यो । कार्यवाहक प्रशिक्षकका रुपमा सान्टियागो सोलारीलाई जिम्मेवारी दियाे । 

 

तर अचम्मकाे कुरा के छ भने उनी बार्सिलाेनाका कप्तान लियाेनल मेसीका फ्यान हुन् । याे कुरा अधिकांश रियल म्याड्रिडका समर्थकलाई थाहा नहुन सक्छ ।

 

सोलारीले रियलको कास्टिला टोलीको प्रशिक्षण सम्हाल्नुअघि एक पत्रिकामा अतिथिका रुपमा लेख्ने गर्थे । त्यसमा उनले पटक पटक मेसीको प्रशंसा गर्दै लेखेका छन् । अर्जेन्टिनाकै भएका हुनाले पनि मेसीलाई उनले मन पराउने गर्छन् । ‘प्रत्येक पटक मेसीले बल लिँदा धर्ती रोकिन्छ र सबैको ध्यान उनमा जान्छ । विपक्षी प्रशिक्षकको पसिना छुट्छ र मेसीले आफ्नो जादु देखाउन थाल्छन्,’ उनले लेखेका थिए ।

 

मेसीले चौथो पटक ब्यालोन डी’ओरको उपाधि जितेपछि उनले विश्वको सर्वोत्कृष्ट खेलाडी को हुन् भन्ने विवादमा आफ्नो अभिव्यक्ति दिएका थिए । ‘ मेसी र रोनाल्डोमा फरक थाहा पाउन ब्यालोन डी’ओर उपाधि हेरे पुग्छ,’ मेसीले धेरै उपाधि जितेको समयमा उनले भनेका थिए । ‘ रोनाल्डो उत्कृष्ट खेलाडी हुन मेसीले अर्को खेल खेल्नुपर्ने हुन्छ,’ उनले थपेका थिए ।

 

सोलारीले केही वर्षअघि ला लिगासँगको अन्तर्वार्तामा मेसीलाई सर्वकालीन महान् खेलाडीका रुपमा पेले र म्याराडोनासँग दाँजेका थिए । उनले सन् २०१६ मा भने उनले मेसी रियलमा खेलेको भए हुने भन्ने आशय व्यक्त गरेका थिए । ‘मेसी यस युगका उत्कृष्ट खेलाडी हुन् । तर उनले बार्सिलोनामा खेले, रियलमा आएनन् । मलाई सधैं लाग्थ्यो कि उनी रियलमा आएर खेलून,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्