विप्लवले पनि बनायो प्रकाण्डको नेतृत्वमा वार्ता समिति



काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । चन्द समूह स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको हो ।

वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले बताए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए । ती नेताका अनुसार तत्कालै वार्ता टोलीको बैठक बसेर सरकारसँगको वार्ताका लागि एजेन्डा तय गरिनेछ । सरकारले पनि मंगलबार मात्रै चन्द समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिएका थिए ।

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

प्रतिक्रिया दिनुहोस्