पतौरा मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराएरै छोड्ने मेयरको प्रतिवद्धता



गौर । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्विक महत्वको महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा सुचीकृत गराउने बताएकी छिन् ।
ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको पुरातात्विक मन्दिर नेपालकै एक महत्वपूर्ण पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने बताउदै मेयर साहले विदेशी पर्यटकको लागि पनि उत्कृष्ट गन्तव्य निर्माणमा नगरपालिका प्रतिवद्ध रहेको बताइन । हजारौँ वर्ष पुरानो इतिहास रहेको प्रमाणसमेत भेटिएकोले सो मन्दिरको संरक्षण र प्रवद्र्धनका लागि नगरपालिकाले हरसम्भव प्रयास गरेको बताउदै मेयर साहले अब अन्य तहले समेत साथ दिनुपर्नेमा जोड दिइन । नेपालमा जम्मा १० वटा सम्पदालाई विश्व सम्पदाको सुचीमा राखिएकोले अब अर्को गन्तव्य पुरातात्विक मन्दिर बन्ने मेयर साहको विश्वास छ । आफ्नो अभियानमा साथ दिन मेयर साहले आम नागरिकलाई आह्वान पनि गरिन् ।
“पतौरा महादेव मन्दिर हाम्रो धर्तीको गौरव हो । मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको छ । यस मन्दिरको प्रवद्र्धन र विकासको लागि हामीले विभिन्न प्रयास गरिरहेका छौँ । एउटा नगरपालिकाले गर्न सक्ने जति हामीले गरिरहेकै छौँ । यसका लागि अब अन्य पक्ष लाग्न पनि त्यतिकै जरुरी छ ,’ मेयर साहले भनिन् ।
उनका अनुसार मन्दिरको पुरातात्विक इतिहास जानकारी लिन मन्दिरको उत्खनन् भएको थियो । धेरै प्रमाण पनि भेटिए, मन्दिर कर्नाटक कालको रहेको आंकलन गरिन्छ । पछि विदेशी टोलीले अन्वेषण गर्दा त्यो भन्दा पनि पुरानो हुन सक्ने भनिएको छ । कुनै कालखण्डमा यहाँ एउटा समृद्ध शहर रहेको प्रमाण पनि फेला परेको छ । यसले नै यस मन्दिरलाई विश्व सम्पदा बन्ने आधार तयार गरेको छ मेयर साहको भनाइ छ ।
सरकारले मन्दिरलाई सय पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरेको छ । भगवान शिवको उक्त मन्दिरमा पछिल्लो समय नेपाल तथा भारतका भक्तालुहरुको व्यापक सहभागिता हुन थालेको छ । केही समय अघि बेलायती अन्वेषण टोलीले त्यहाँ विशेष अवशेष भेटाएका थिए । कोरोना महामारी आएपछि त्यसको विस्तृत् प्रतिवेदन आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्