नायिका खोज्दै ‘प्रेम गीत ३’ टिम, यसरी जोडिनुस् टिमसँग



काठमाडौं : छायांकन नहुँदै आउँदो चैत्र २८ गतेलाई प्रदर्शन मिति तोकेको अपकमिङ फिल्म ‘प्रेम गीत ३’ का लागि निर्माण टिमले नायिकाको खोजी गरेको छ । फिल्मले मुख्य नायिकालाई अडिसनमार्फत लिने जानकारी गराए ।

यसअघि दुई पोस्टर सार्वजनिक गरेर फिल्मको रिलिज मिति तय गरेको थियो । फिल्मका निर्माता सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ मा नयाँ नायिकाको खोजी गरिएको जानकारी दिए ।  सामाजिक सञ्जाल फेसबूकमा सेनले लेखेका छन्, ‘हामीले अडिसनबाटै एकजना राम्रो अभिनय गर्ने अभिनेत्री चलचित्र उद्योगमा प्रवेश गराउने सोच राखेका छौँ ।’

फिल्ममा ‘गीत’ को भूमिकामा नायिकालाई लिने जनाएको हो । टिमका अनुसार आसुसेन फिल्मसको आधिकारिक वेबसाइट या [email protected] मा इमेल गरेर अडिसनका लागि आह्वान गर्न सक्नेछन् ।

अडिसनका लागि हालै खिचेका ४ तस्वीर र बायोडाटा पठाउन पनि निर्माण टिमले आग्रह गरेको छ । नायिकाका लागि उमेर हद १८ वर्षदेखि २५ वर्ष र उचाइ ५.२ इन्चदेखि ५.७ हुनुपर्ने बताइएको छ । निर्माण टिमले आवेदन परेकाबाट २० जना प्रतियोगीलाई पहिलो चरणमा छान्ने जनाएको छ ।

साथै निर्माण टिमले यो फिल्मका लागि एक वर्षदेखि तयारी गरिरहेको जनाएको छ । फिल्मको निर्माण सन्तोष सेनले गर्नेछन् । फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका रहने बताइए पनि आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्