अनुष्का बनिन् ‘मिस नेपाल वर्ल्ड–२०१९’को विजेता



काठमाडौं: हिडन ट्रेजर मिस नेपाल २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै उनी मिस नेपाल वर्ल्ड २०१९ को ताज आफ्नो पक्षमा पार्न सफल भएकी हुन् ।  उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृङ्खला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् । 

यस्तै मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति र मिस नेपाल अर्थ रिया बस्नेत बन्न सफल भए । यस्तै अन्य टाटलतर्फ निशा पाठक, मिस नेपाल कन्फिडेन्ट, रिया बस्नेत मिस पपुलर च्वाइस, प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट, अनुस्का श्रेष्ठ मिस फ्यासिनो, नितिका कर्माचार्य ब्यूटी विद पर्पोसको जित्न सफल भए । 

नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगीता मानिने ‘मिस नेपाल’को यो श्रृङ्खलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए ।

यसपटकको ‘मिस नेपाल’को आयोजना किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो । यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका आयोजकले दिएको थियो । कार्यक्रममा गायक दिपक बज्रचार्यले ‘मनमगन’ बोलको गीत प्रस्तुत गरे भने रचना गुरुङले अंग्रेजी गीत गाएकी थिइन् ।

‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत सुरुवातमै स्टेजमा निमन्त्रणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्