कविता : जीवन र संघर्ष 



यो संघर्षको मैदानमा उत्रिएको जीवन 

कहिले लड्छ कहिले उठ्छ 

कहिले छालहरूसँग लहरिन्छ 

कहिले आँधी र हुरी सँग बेरिन्छ 

अनि कहिले फुल्छ कहिले झर्छ 

भोको पेटलाई एकातिर थन्क्याएर 

जीवन र संघर्षको यात्रा गरिरहेका 

ती महान् मानिसहरू छ्याप छ्याप्ति भेटिन्छन् पाइलै पिच्छे । 

हलो र गोरु सँग नारिएर यो टट्यान घाममा 

पटपटी फुटेका पैताला घिसार्दै 

पसिनाका धाराले पुरै शरीर नुहाउँदै 

अनि संघर्षलाई चुनौती दिने 

ती चाउरी परेका अनुहार 

हेर्दा लाग्छ वास्तविक संघर्ष 

तिनैले गरेका छन् तिनैले बुझेका छन् 

जीवन र संघर्षलाई तिनैले भोगेका छन् ।।

म पनि त त्यै संघर्षको पाइला चाल्दै छु 

हिजो कुटो, कोदालो र हँसिया समाउने यी हातले 

आज भर्खर कलम चलाउन सिक्दैछु 

म पनि चुनौती दिँदै छु 

संघर्षलाई लड्दै छु त्यही मैदानमा 

जीवनलाई धकेल्दै छु त्यही मैदानमा 

दुस्ख, पीडा र वेदनाको बेवास्ता गर्दै 

जिन्दगी घिसार्दै छु त्यही मैदानमा 

सपनाका पोकाहरू सँगाल्दै 

त्यो सपना साकार पार्ने उद्देश्यले लम्किरहेछु लम्किरहेछु 

सायद यही होला जीवन र संघर्ष ।।।

हामी भन्छौँ नि मानिस जन्मिदा खाली हात जन्मियो 

तर मानिस जन्मिदा खाली हात जन्मिएको हुँदैन 

उसले जन्म सँगै एउटा उपहार लिएर जन्मिएको हुन्छ 

त्यो हो संघर्ष जन्मको सुरुवातमै 

मानिसले आफ्नू पेट भर्न संघर्ष गरिरहेको हुन्छ 

संघर्षले मानिसको पाइला पाइला छोएको छ 

जन्मदेखि जीवनको अन्त्य सम्म यसले पछ्याइरहने छ ।।।।

 

प्रतिक्रिया दिनुहोस्