चितवन राइनोजकाे पहिलो जित, धनगढी ६७ रनमै अल अाउट



पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले पहिलो जित हात पारेको छ ।

 

पोखरा रंगशालामासम्पन्न खेलमा पारस खड्काको चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजलाई १ सय २६ रनको भारी अन्तरले पराजित गरेको हो । १ सय ९४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एक्सपर्ट धनगढीले १६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सक्यो ।

 

शून्य रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले दोस्रो विकेटको रुपमा डेन लवारेन्सलाई पनि शून्य रनमै गुमाएको थियो । चौथो ओभरको चौथो बलमा टिमको स्कोर ७ रन हुँदा सन्दीप सुनारलाई गुमाएपछि धनगढी दबाबमा परेकाे थियो ।

 

धनगढीका शीर्ष स्थानका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । कप्तान दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने सौरभ खनाल ८ र दिलीप नाथ शून्य रनमै आउट भए । विदेशी खेलाडी पिटर ट्रेगोले २७ रन बनाउँदै इनिङ्सलाई सम्हाल्ने कोशिस गरेका थिए तर, उनी पनि भुवन कार्कीको बलमा क्याच आउट भए ।

 

त्यस्तै योगेन्द्रसिंह कार्कीले १७ रन बनाए । बलिङतर्फ चितवनका लागि सुन्नी पटेलले ४ विकेट लिए भने भुवन कार्की र स्मित पटेलले समान २–२ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

 

अनिलकुमार साह र हरिशंकर साहले पहिलो विकेटका लागि १ सय १ रनको साझेदारी गरे । हरिशंकरले ५३ रन बनाए । अनिल ३७ रनमा आउट भए । सन्नी पटेल २६ रनमा अविजित रहँदा समिट पटेलले २४ रन जोडे ।

 

कप्तान पारस खड्काले १९ रन बनाएका थिए । आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको विराटनगर र सोमपाल कामीको बुटवलबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्