राज्यव्यवस्था समितिमा नेकपा सांसद भुसाल र श्रेष्ठको मत बाझियो



काठमाडौं : संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सत्तारूढ दल नेकपाका सांसदबीच मत बाझिएको छ। काठमाडौं–निजगढ द्रुतमार्गको स्थलगत अनुगमन गर्ने सभापति शशी श्रेष्ठको प्रस्तावमा नेकपाका सांसदहरू पम्फा भुसाल र कृष्णगोपाल श्रेष्ठको मत बाझिएको हो। 

 

नेकपाका सांसदहरूको फरक मतका बाबजुद समितिलेको बुधबार सिंहदरबारमा बसेको बैठकले ललितपुरस्थित खोकना र बुङमतीका स्थानीय जनताको मागको सुनुवाई गर्न सोही क्षेत्रभित्र रहेको द्रुतमार्गको बिहीबार स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ।

 खोकना र बुङमतीका स्थानीय जनताले समितिमा उजुरी दिएपछि त्यसलाई सम्बोधन गर्न द्रुतमार्गको ललितपुरस्थित पहिलोखण्ड अनुगमन गर्न जान लागिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

 

 खोकना र बुङमतीका स्थानीयले जग्गाको मुआब्जा उचित ढंगले नपाएको भन्दै न्याय दिन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका थिए।  सोही उजुरीलाई सम्बोधन गर्न समिति सदस्यहरू द्रुतमार्गको स्थलगत अवलोकन गर्न जाने निर्णय लिइएको समितिकी सदस्य पम्फा भुसालले बताइन्। 

 

समितिका अर्का सदस्य कृष्णगोपाल श्रेष्ठले भने द्रुतमार्गको स्थलगत अनुगमनमा जाने समितिको निर्णयमा असहमति जनाएका छन्। उनले द्रुतमार्गका पीडित समितिमै बोलाएर सुनुवाइ गर्न सकिने धारणा राखेका थिए।

 

 नेपाली सेनालाई नै समितिको बैठकमा बोलाएर द्रुतमार्गबारे विस्तृत जानकारी लिन सकिने समितिका सदस्य श्रेष्ठको भनाइ थियो। भुसाल पूर्वमाओवादीकी नेतृ तथा ललितपुरबाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ पूर्वएमाले तथा प्रधानमन्त्री ओली निकट नेता तथा सांसद हुन्। 

 

नेपाली सेनाले निर्माण गरिरहेको द्रुतमार्ग अन्तर्गत ललितपुरस्थित खोकना र बुङमतीका स्थानीय जनताले जग्गाको उचित मुआब्जा नदिएको भन्दै उक्त सडकखण्ड निर्माणको काम अवरुद्ध गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्