कांग्रेस र कम्युनिष्ट असफल : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल साबित भएको टिप्पणी गरेका छन् । उनले सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको पनि दाबी गरेका छन् ।
राप्रपा काठमाडौं महानगर समितीद्वारा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले संवैधानिक अंगका प्रमुखहरु माथी नै गम्भीर आरोप–प्रत्यारोप हुनु ,एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य ब्यबस्था माथि प्रश्नचिन्ह खडा भएको बताए ।
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिवर्तन गर्नको निमित्त गम्भीरतापूर्वक चिन्तन मनन हुनुपर्नेमा थापाको जोड थियो । अहिले मुलुकको ठुलो समस्या भनेको भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन, कुशासन र सर्बसत्ताबाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने बैकल्पिक शक्ति मुलुकले खोजिरहेको समेत बताए ।
बिदेशीबाट पालित पोसित भनी आरोप लगाउने, अनि त्यही व्यक्तिको सरकारलाई समर्थन गरिरहने उदेकलाग्दो राजनीति अहिले मुलुकमा भएको भन्दै थापाले गणतन्त्रका सम्वाहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे ब्यबस्थामा रुपान्तरण गरेको बताए । राप्रपालाई मुकुक र जनताले खोजेको बैकल्पिक शक्ति बनाउनको निमित्त महाधिवेशन केन्द्रित भई संगठन निर्माणमा होमिनुपर्ने आबश्यकता रहेको समेत थापाले औल्याए ।

प्रतिक्रिया दिनुहोस्