प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, अझैं केही दिन अस्पतालमा राखिने



काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा  क्रमिक सुधार भैरहेको जनाइएको छ । त्रिवि शिक्षण अस्पतालले बुधबार साँझ पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले केही खानेकुरा खानुका साथै सामान्य कुराकानी समेत गरेको  जानकारी दिएको हो । 

 

‘उहाँसँग केहीबेर अघि सभामुख कृष्णबहादुर महराले पनि भेट गर्नुभयो, ज्वरो र खोकी पनि नियन्त्रणमा आएको छ, आज दालभात, तरकारी पनि खानुभयो उहाँ अहिले तन्दुरुस्त हुनुहुन्छ’, सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. अरुण सायमीले जानकारी दिए । 

 

उनले प्रधानमन्त्री ओलीलाई छिटोभन्दा छिटो डिष्चार्ज गर्न आफुहरु तयार रहेको बताउँदै फेरि सोही केस नदोहोरियोस् भनेर २, ३ दिन अस्पतालमै राख्नुपर्ने  बताए । पाँचदिन देखि चलाइरहेको एन्टिवायोटिक भोली बिहिबार सम्ममा सकिने र  त्यसपछि मुखले खाने औषधी मात्र चल्ने डा. सायमीले जानकारी दिएका छन् ।  

 

बुधबार प्रधानमन्त्रीकै आग्रहमा सभामुख, रक्षामन्त्री र गृहमन्त्रीलाई भेट गर्न दिइएको समेत उनले जानकारी दिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्