कैलालीको मालपोत कार्यालयमा बारअनुसार छुट्टाछुट्टै सेवा



धनगढी । कोरोना भाईरस (कोभिड–१९)को बढ्दो जोखिमलाई मध्यनजर गर्दै भूमिसुधार तथा मालपोत कार्यालय कैलालीले स्थानीय तहका नागरिकलाई सेवा दिन छुट्टाछुट्टै बार तोकेको छ ।

कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बारअनुसार सेवा तोकिएको मालपोत कार्यालयले जनाएको छ । अन्य विभिन्न सेवाका लागि पनि बार तोकिएको छ । कोभिड –१९ को संक्रमण रोकथामका लागि धनगढी उपमहानगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका नागरिकले आइतबार र सोमबार कार्यालयबाट सेवा पाउनेछन् । मंगलबार र बुधबार गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र भजनी नगरपालिकाका नागरिकलाई सेवा दिइने कार्यालयले जनाएको छ ।

घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका र कैलारी गाउँपालिकाका नागरिकले बिहीबार र शुक्रबार सेवा पाउने भएका छन् । यसैगरी मुद्धा फाँटसँग सम्बन्धित कार्यका लागि धनगढीवासीले आइतबारदेखि मंगलबारसम्म सम्पर्क राख्न सक्नेछन् भने बुधबारदेखि शुक्रबारसम्म अन्य स्थानीय तहका नागरिकलाई सेवा दिइने भूमिसुधार तथा मालपोत कार्यालयले बताएको छ ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने बताइएको छ । कैलालीमा पछिल्लो समय कोरोना संक्रमण हुने दर उच्च रहेको छ । विद्यालय पनि बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्