महामारीमा पनि बनेन एक वर्षअघि बिग्रिएका अक्सिजन प्लान्ट



वीर : गत वर्ष जब दुनियाँभर नेपालमा कोभिडको पहिलो लहर आयो, त्यही वेला देशको जेठो अस्पताल तथा विपन्नको सहारा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रियो । तर, देश महामारीको अभूतपूर्व चपेटामा छ, तर एक वर्षसम्म पनि वीर अस्पतालको अक्सिजन प्लान्ट अझै मर्मत भएको छैन । वीरमा सामान्य अवस्थामा दैनिक सय सिलिन्डर अक्सिजन खपत हुन्छ । तर, कोभिडको समयमा तीन सय सिलिन्डर खपत हुने बताउँछन् वीर अस्पतालका कोभिड संयोजक डा. अच्युत कार्की । यही वेला अक्सिजन प्लान्ट थन्किएको छ । ‘बीचमा केही दिन चलेको थियो, तर लगत्तै बिग्रियो, यही वेला अक्सिजनको सप्लाई कम हुन थालेको छ, अब कसरी व्यवस्था गर्ने भन्ने समस्या देखिएको छ,’ कार्की भन्छन् । 

पाटन : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको एक वर्ष भइसकेको छ । सयभन्दा बढी सिलिन्डर प्रयोग हुने अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य मानिन्छ । तर, करिब तीन सय सिलिन्डर प्रयोग हुने पाटनको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द छ । ‘मर्मत गर्ने वा नयाँ ल्याउने भन्नेमा विभिन्न चरणमा छलफल भयो, त्यसैले समय लाग्यो । अब नयाँ ल्याउनुपर्छ भन्ने टुंगोमा पुगेका छौँ,’ अस्पतालका निर्देशक डा. रवि शाक्य भन्छन् । तर, त्यो पनि कहिले आउने भन्ने टुंगो छैन । 

पोखरा : अक्सिजन प्लान्ट बनाउन आएको बजेट बैंकमा राखेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिलिन्डर खरिद गरिरहेको छ । अक्सिजन प्लान्टका लागि विनियोजित ६५ लाख रुपैयाँ पाँच वर्षदेखि बैँकमा छ । जब कि प्रतिष्ठानमा दैनिक करिब एक सय ५० सिलिन्डर खपत हुन्छन् । 

विनियोजित रकम अपुग भएकाले प्लान्ट खरिद गर्न नसकिएको र थप बजेट पनि प्राप्त नभएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । ‘अक्सिजन प्लान्ट जडान गर्न ६५ लाख रुपैयाँ विनियोजन भएको थियो, तर दुई करोड रुपैयाँ लाग्ने भएपछि खरिद भएको छैन । त्यसैले म आउनुभन्दा केही वर्षअघिदेखि नै रकम बैंकमा छ,’ उनले भने । आचार्य निर्देशक भएको साढे तीन वर्ष भएको छ । 

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्ट बिग्रिएको छ । यो अस्पतालमा सामान्य अवस्थामा पनि दैनिक एक सय ५० सिलिन्डर खरिद गरिन्छ । अझ, अहिले कोभिड समयमा यसको प्रयोग दोब्बर भएको छ । तर, यस्तो वेला पनि अस्पतालले प्लान्ट बनाएको छैन । सिलिन्डर खरिद गरेर जुगाड चलाइरहेको छ । 

टेकु : टेकु अस्पतालले कोरोना संक्रमितलाई सिलिन्डरको माध्यमबाट अक्सिजन पुर्‍याउन नसकिने भन्दै एक वर्षअघि ‘लिक्विड अक्सिजन प्लान्ट’ जडान गरेको थियो । तर, यो प्लान्ट बुधबारबाट खाली भएको छ । ‘प्लान्ट भनिए पनि अक्सिजन आफैँ उत्पादन गर्ने होइन, बाहिरबाटै ल्याएर हाल्ने हो । तर, आपूर्ति घटेकाले प्लान्ट खाली भएको छ,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारी भन्छन् । बुधबार दिउँसोबाट टेकुमा पनि सिलिन्डर प्रयोग गर्न थालिएको छ । 

‘टेकुमा ५० बेडमा निरन्तर अक्सिजन दिनुपर्दा एक घन्टामा ६ सिलिन्डर सकिन्छन् । यसरी एकै दिन टेकुमा मात्रै एक सय ४४ सिलिन्डर सकिन्छ । यति धेरै माग सिलिन्डिरबाट लामो समय धान्न गाह्रो छ, तर केही दिनमा प्लान्ट नै सञ्चालमा आउने विश्वासमा छौँ,’ टेकु अस्पतालका बायोमेडिकल टेक्निसियन लक्ष्मण रिमाल भन्छन् । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्